राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ।शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन मात्र बनाउन सक्यो। दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए। यस्तै ओपनर पृथ्वी शा र ललित यादवले समान ३७-३७, रोभम्यान पावेलले ३६, डेभिड वार्नरले २८ रन बनाए।

दिल्लीलाई जितको लागि अन्तिम ६ बलमा ३६ रन चाहिएको थियो। रोभम्यान पावेलले तीव्र गतिका बलर ओबेद म्याककोयलाई सुरूवाती तीन बलमा सानदार छक्का प्रहार गरेपछि दिल्लीको आशा जिवितै राखे।

तेस्रो हाइट बलमा नो बल माग्दै ऋषभ पन्तले खेलाडीनै बाहिर बोलाएका थिए। तर खेलाडी आएनन्। पन्तलाई डग आउटमा रहेका शेन वाटसनले सम्झाएका थिए। चौथो बल डट राखेपछि दिल्लीको जित टाढिएको थियो। पाँचौं बलमा दुई रन र अन्तिम बलमा पावेल क्याच आउट हुँदै दिल्ली हार्न पुग्यो।

यसअघि दिल्लीले पहिलो विकेटका लागि डेभिड वार्नर र पृथ्वी शाले ४.२ बलमा ४३ रनको साझेदारी गरेका थिए। वार्नर १४ बलमा ५ चौका र १ छक्कासहित २८ रनमा क्याच आउट भएपछि शाले कप्तान ऋषव पन्तसँग अर्धसतकीय साझेदारी गरे। २७ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा शा आउट भएपछि दिल्लीको इनिङ्स धर्मरायो।

राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए। रविचन्द्रन आश्विनले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । युजवेन्द्र चहल र ओबेद मकाएले समान १-१ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। उसका लागि ओपनर जस बटलरले सतक बनाए। ६५ बल खेलेका उनले ९ चौका र ९ छक्कासहित १ सय १६ रन बनाए।

बटलरको यो जारी आइपिएलमा लगातार दोस्रो र सिजनको तेस्रो शतक हो।

उच्च लयमा रहेका बटलरले यस सिजनको सुरूवाती ७ खेलमा तीन शतक २ अर्धसतकसहित ४९१ रन बनाइसकेका छन्।

पहिलो खेलमा हैदाराबादसँग ३५ रन बनाएका उनले दोस्रो खेलमा मुम्बईविरूद्ध १०० रन बनाएका थिए। तेस्रो खेलमा बैंलोरमाथि नटआउट ७० रन बनाएका उनी चौथो खेलमा पुणे सुपरजाइन्टसँग १३ रनमै आउट भए। त्यसपछि पाँचौ खेलमा गुजरात टाइटनसँग ५४ रनको अर्धसतकीय इनिङ्स खेलेका उनले त्यसपछि कलकत्तासँग १०३ र सातौं खेलमा दिल्लीमाथि ११६ रनको पारी खेले।

पहिलो विकेटका लागि जस बटलर र देवदत्त पाडिक्कलले १५.१ ओभरमा १ सय ५५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

खलिल अहमदको बलमा एलबीडब्लू आउट हुनुअघि पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रनको इनिङ्स पुरा गरेका थिए।

कप्तान सञ्जु स्यामसनले १९ बलमा ५ चौका र ३ छक्कासहित आक्रमक ४६ रनमा अविजित रहे।

दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए।

राजस्थानले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ। यस्तै दिल्लीले अब बिहीबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ।

यो जितसँगै राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित समान १० अंक भए पनि नेटरनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ। यस्तै समान ७ खेलमा ५ मा जित र २ मा हारसहित बैंलोर १० अंकका साथ तेस्रो स्थानमा छ।

लखनऊ चौथो स्थानमा रहँदा समान अंकको हैदराबाद पाँचौ स्थानमा छ।

यस्तै ७ खेल खेलेको दिल्ली ३ मा जित र ४ मा हार सहित छैठौं स्थानमा छ।

समान अंक भएका कोलकाता नाइट राइडर्स सातौ र पन्जाब आठौं स्थानमा छन्।

चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ। यता सबै ७ खेल गुमाएको मुम्बई अंक बिहिन छ।

 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com