काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आज समापन भएको छ। समापन समारोहमा आकर्षक पुरस्कारको रूपमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार प्राप्त गरेका छन्।
नेपाली क्रिकेटको इतिहासमा खेल खेलेर कार जित्ने पहिलो खेलाडी बनेका ऐरीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘इलेक्ट्रिक फाइङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड जिते। यो पुरस्कारसँगै उनले झन्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ‘ई फाइभ डिएलएक्स’ कार पाएका हुन्। नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि, र शारदा ग्रुपले संयुक्त रूपमा एनपीएलका उत्कृष्ट खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए।
सुदूरपश्चिम रोयल्सलाई कप्तानी गरेका ऐरीले एनपीएलका नौ खेलमा दुई सय २७ रन बनाउँदै नौ विकेट पनि लिएका थिए। यद्यपि, रोयल्स पहिलो संस्करणको उपविजेता बनेको छ।
यसैगरी, एनपीएलको विजेता जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशीले ‘अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल’ जितेका छन्। उनले प्रतियोगितामा १७ विकेट लिँदै चार रन बनाएका थिए।
सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले ‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड जित्दै पाँच लाख रुपैयाँ प्राप्त गरे। जैबले दुई सय ७५ रन बनाउँदै १२ विकेट पनि लिएका थिए।
त्यस्तै, जनकपुर बोल्ट्सका अमेरिकी क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ द टुर्नामेन्ट’ अवार्ड जित्दै दुई लाख रुपैयाँ पुरस्कार पाए। उनले एनपीएलमा ३५ चौका प्रहार गर्दै कुल दुई सय ९३ रन बनाएका थिए।
जनकपुर बोल्ट्सकै जिम्मी निशमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड जिते। उनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। निशमले प्रतियोगितामा दुई सय ४७ रन बनाउँदै सात विकेट लिएका थिए।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपिन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्डसहित ५० हजार रुपैयाँ र प्रेसिडेन्टल ग्राजुएट स्कुलबाट १० लाख बराबरको छात्रवृत्ति पाए। उनले प्रतियोगितामा १३ विकेट लिएका थिए।
यस्तै, एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ अवार्ड जित्दै आफ्नो खेल भावना प्रदर्शन गरेको छ।
प्रकाशित मिति: ६ पुस २०८१, शनिबार
प्रतिक्रिया