काठमाडौँ । पशुपतिनाथको मन्दिर क्षेत्र फोहोर भएका कारण तीर्थयात्री घटेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले हरेक शनिबार दुई घन्टा सरसफाइ गर्ने भएका छन् ।

पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले मंगलबार कर्मचारीहरूलाई सरसफाइका लागि बाध्य बनाएको हो ।

‘आराध्यदेव पशुपतिनाथको मन्दिर रहेको पाशुपत क्षेत्रमा नियमित सरसफाइ हुने नगरेको छ, यसै कारणले पशुपति क्षेत्रमा भक्तजनहरुको आवतजावतमा कमी हुँदै आएकाले मन्त्रालय र हामी मातहत उपत्यकामा रहेका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘सामूहिक सफाइमा पशुपति क्षेत्र विकास कोषले सफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनु पर्नेछ ।’

मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सहभागिताका लागि निर्देशन दिएको छ । अब हरेक शनिबार बिहान पशुपति सफाइमा पर्यटन विभाग, पूरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारी सहभागी हुने छन् ।

त्यस्तै पर्यटन बोर्ड, हनुमानढोका दरबार संग्राहलय हेरचाह विकास समिति, पाटन दरबार संग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारी सहभागी हुने छन् ।

पर्यटनमन्त्री सुदन किरातीले मातहतका सबै निकायलाई सेवाग्राहीहरुको हितका लागि नियमित सरसफाइ गर्न यसअघि निर्देशिका जारी गरेका थिए ।

 

प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com