काठमाडौं । काठमाडौंका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको छ । उनी चाँडै बुवा बन्दैछन् ।
विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् । निकटस्थका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।
मोरङ, उर्लाबारीकी सविना आरजे थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।
टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।
बालेन अहिले विदेश भ्रमणमा छन् । उनी मेयर भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ बजेको फ्लाइटबाट लण्डन प्रस्थान गरेका हुन् ।
प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार
प्रतिक्रिया