काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिएको आइतबार ९ दिन भइसकेको छ । तर पनि सिंहदरबार भित्रका मन्त्रालयको प्राङ्गण वरपर फोहोर देखिएको छैन भने दुर्गन्ध पनि फैलिएको छैन । फोहोर ल्याण्डफिल साइटमा लैजान महानगरपालिकाले रोकेपछि वर्गीकरण गरेर सिंहदरबार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ।

सिंहदरबार भित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरेको हो । प्रालिका सञ्चालक मित्र घिमिरेका अनुसार सिंहदरबारबाट निस्किने फोहोर वर्गीकरण गरेर व्यवस्थान गरिरहेको हो ।

‘कुहिने फोहोर र पशुका चारा हुने फोहोर छ्ट्याएर फोहोर व्यवस्थापन सुरु गरेका छौं । कुहिनेलाई खाल्डोमा र पशुका चारा हुने फोहोर किसानलाई पठाइरहेका छौं,’ घिमिरेले भने, ‘नकुहिने फोहोरमा पुनः प्रयोग हुनेलाई छुट्याएर व्यवस्थापन गरिरहेका छौं भने पुनः प्रयोग नहुनेलाई सिंहदरबारका केन्द्रीय उद्यानमा डम्प गरिरहेका छौं । ’

सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।

घिमिरेका अनुसार महानगरपालिका र सिंहदरबार बीच छलफल नहुँदा फोहोरमैला सिंहदरबार भित्रै व्यवस्थापन गर्न परेको हो ।

प्रकाशित मिति: ३ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com