काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो।

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभाबी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर सङ्कलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन्। कुकुरले कतिपय मन्त्रालयका भर्याङमा दिसा गर्ने गरेका छन्।

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्याङ्क छैन। कुकुरलाई कुनै सङ्केत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन।

सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन।

सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा कुकुरका आहारा हुन्।

सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताए।

उनले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको बताए।

उनका अनुसार बेला–बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र–बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन।

सिंहदरबारसहित महानगरपालिकाभरिका कुकुर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९८० मा ५० लाख रुपियाँ विनियोजन गरे पनि कुकुरको ‘फिडिङ जोन’ निर्धारण गरिएको देखिँदैन।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com