काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो ।

बुधवार बिहान पक्राउ परेका खाणलाई अपराह्नसम्म काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो ।

त्यसपछि प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाण कतै जान तयार भएनन् । प्रहरीले पनि जोडबल नगरेको स्रोतले बतायो ।

‘उहाँले यतै बस्ने इच्छा व्यक्त गर्नु भयो, हामीले सबै कुरा विचार गरेर यतै सुत्ने व्यवस्था मिलाएका हौं,’ परिसर स्रोतले भन्यो ।

खाणलाई प्रहरीले अहिलेसम्म हतकडी लगाएको छैन । यही मुद्दामा पक्राउ परेका बिचौलियाहरूलाई हतकडी लगाएर अदालत लगिँदा खाण भने फुक्का थिए । हाई प्रोफाइल भएकै कारण फरक व्यवहार गरिएको भनेर प्रहरीले आलोचना खेपिरहेको छ ।

स्रोतका अनुसार बुधवार साँझ खाणका आफन्त उनको कपडा लिएर परिसर आएका थिए । उनकी श्रीमती मञ्जु भने हालसम्म नआएको बुझिएको छ । यो प्रकरणमा मञ्जुको नाम पनि जोडिएको छ । श्रीमान् पक्राउ परेपछि उनी मोबाइल स्विच अफ गरेर बसिरहेकी छन् । खाणलाई घरबाट खाना पनि ल्याइएन । उनले हिजाे राति परिसरकै मेसको खाना खाएका थिए । आज बिहान दाजुभाउजूले खाना घरबाट ल्याइदिएका छन् ।

तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग सामाजिक सञ्जालमा भएको कुराकानी फेला परेपछि प्रहरीले खाणलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com