काठमाडौं । पेशाले शिक्षिका तथा समाजसेवी गिभिना मगरको टिकटकमा १४ लाख भन्दा बढी फलोअर्स थिए । तर, हालै टिकटकले उनको अकाउन्ट बन्द गरिदियो । आखिर किन त ?

यसको जरो जोडिएको छ, भरतपुर क्यान्सर अस्पतालको एउटा घटनासँग । क्यान्सर लागेकी १६ वर्षीया अर्चना मगरको उपचार सो अस्पतालमा भइरहेको थियो । उनको उपचारमा सहयोग गर्दै आएकी गिभिना केही दिनअघि अस्पताल पुगेकी थिइन् । त्यहाँ ड्यूटीमा रहेका नर्ससँग उनको विवाद भयो ।

गिभिनाका अनुसार २ बजे सिरिन्जबाट प्रयोग गर्नुपर्ने औषधि साढे ४ बजे दिइएको थियो । तर नर्सले रेकर्ड भने दुई बजेकै राखेपछि आफूले प्रतिवाद गरेको उनको दाबी छ । बिरामीलाई साढे २ घण्टाको असरले जे पनि हुन सक्ने भन्दै आफूले प्रश्न गर्दा नर्सहरुले आफू र बिरामीमाथि नै अपमानजनक शब्दहरु प्रयोग गरेको उनले टिकटक भिडिओमा बताएकी छन् ।

‘मैले नर्सलाई २ बजे प्रयोग गर्नुपर्ने औषधि साढे ४ बजे प्रयोग गरेर रेकर्डमा २ बजे लेख्न मिल्छ ? भनेर सोधेको भिडिओ पोस्ट नगर्न नर्सहरुले दवाव दिए । त्यसपछि मैले भिडिओ ड्राफ्टमा राखेको थिएँ । तर, बिरामी र ममाथि पनि खराब व्यवहार भएपछि भिडिओ पोस्ट गरेको हुँ’, गिभिनाले सामाजिक सञ्जालमा भनेकी छन् ।

गिभिनाले अर्चनाको उपचारमा आर्थिक सहयोगका लागि टिकटक तथा फेसबुकमार्फत अपील गरेकी थिइन् । यसलाई लिएर नर्सहरुले आपत्ति जनाएका छन् । बिरामीको फोटो भिडिओ हालेर रकम संकलन गरेको भन्दै उनीहरुले टिकटकमा रिपोर्टसमेत गरेपछि गिभिनाको अकाउन्ट ब्यान्ड भएको बुझिन्छ ।

आफूले विभिन्न व्यक्तिहरुबाट उठाएको सहयोगले बिरामीको उपचार गराउँदा नर्सहरुले भिखारी भन्दै अपमान गरेको गिभिनाको आरोप छ ।

आर्थिक अभावका कारण दुई महिनादेखि उपचार रोकिएपछि जीवनरक्षाका लागि अर्चनाले आग्रह गरेको र आफूले सहयोग जुटाउन थालेको उनी बताउँछिन् । व्यक्तिगत रुपमा नचिनेकी अर्चनालाई आफूले स्वच्छ मनले उपचारमा सहजीकरण गर्दा नर्सहरुबाट खराब व्यवहार भएको उनको गुनासो छ ।

अर्चना ९ वर्षकै हुँदा बुबाको निधन भएको थियो । अर्को विवाह गरेर गएकी आमाले नै पहिले खर्च जुटाउँदै उपचार गराएकी थिइन् । तर, उनले पनि हात छोडेपछि आफूले अग्रसरता लिएको गिभिनाको भनाइ छ ।

अस्पतालमा नर्स र गिभिनाबीचको विवाद जिल्ला प्रहरी कार्यालय चितवनमा समाधान भइसकेको तर त्यसपछि सोही अस्पतालमा कार्यरत नर्सको छोराले फोन गरेर आफूलाई धम्की दिएको गिभिनाले दाबी गरेकी छन् ।

त्यसपछि आफू केही मानिसहरुसहित अस्पताल पुगेर धम्कीबारे कुरा गर्दा करिब डेढ दर्जन नर्सहरुले घेरेर ‘भिखारी’ को आरोप लगाएको पनि उनको भनाइ छ । गिभिनाका समर्थक र स्थानीय तथा अन्य बिरामीका आफन्तले भने नर्सहरुको कार्यशैलीप्रति विरोध जनाउँदै प्रदर्शन गरेका थिए ।

घटना बाहिर आइसकेपछि नर्सको व्यवहारप्रति असन्तुष्ट जनाउँदै अस्पताल प्रांगणमा प्रदर्शन भयो । जहाँ नर्सहरुलाई पनि गालीगलौज गरिएको थियो । टिकटकमा पनि तिव्ररुपमा गालीगलौज सुरु भएपछि नर्सहरुले आफूमाथि अपमान भएको तथा गलत प्रचार गरिएको भन्दै जिल्ला प्रहरीका कार्यालय चितवनमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षलाई मिलाउने प्रयास गरिरहेको छ ।

यस विषयमा गिभिनासँग कुरा गर्न खोज्दा प्रहरीले मेलमिलापको प्रयास भइरहँदा मिडियासँग कुरा नगर्नु भनेको बताइन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com