नयाँ वर्ष। नयाँ उमंगले नयाँ योजना र नयाँ–नयाँ विकासको खोजी गर्छ। अर्थात्, सबैमा नयाँ ऊर्जा प्रदान गरेको हुन्छ। त्यसैले त, नयाँ वर्षको माहोल नै फरक र उत्सवमय हुन्छ। सबैमा पुराना सोच र असफलतालाई छोडेर नयाँ सफलता हासिल गर्ने नयाँ ऊर्जा–शक्ति जागृत गराउँछ। विगतका वर्षमा मात्रै हामी रमाउनु भएन। किनकि, त्यतिबेला अर्थतन्त्रको संकटले सबै वर्ग र समुदायमा भय सिर्जना गराएको थियो। समाचारहरू हेर्यो वा सुन्यो, जताततै निराशाजनक मात्रै। राजनीतिक क्रियाकलापहरू मनोबल कमजोर बनाउने खालका मात्रै देख्यौं, सुन्यौं र पढ्यौं। नयाँ वर्षले सबैको चिन्ता दूर गरोस्।
विकास र राजनीति
गतिशीलता र निरन्तर उन्नति नै विकास हो। विकास भनेकै सामाजिक परिवर्तन ल्याउने माध्यम भएकोले राजनीति र विकास एकअर्काका परिपूरक मानिन्छन्। फोहोरबाट मोहोर फलाउन सकिने प्रविधि र ज्ञानको विकास भइसकेको अवस्थामा हाम्रोजस्तो प्राकृतिक स्रोत, साधन र ऊर्जाले भरिपूर्ण देशमा अर्थतन्त्र विकास हुन नसक्नु दुःखको कुरा हो। यसको कारण पत्ता लगाएर सबैको विकासप्रतिको ऐक्यबद्धता जुटन सक्यो भने विकासको गति प्रभावकारी हुने निश्चितै छ।
आज, जसरी राजनीतिक गठबन्धन र निर्वाचनमा सबै ऊर्जा केन्द्रित छ, त्यो ऊर्जालाई आर्थिक विकासको सोचमा लगाउन सके देश विकासले ह्वात्तै गति लिनेछ । त्यसका लागि नागरिकको खल्बलिएको मनस्थितिलाई सहज बनाउन ढिला गर्नुहुन्न। देश विकासको महसुस जनताले त्यतिबेला गर्छन, जतिबेला प्रत्येक नागरिकको जीवनस्तर सुधार हुन्छ। कुनै पनि नागरिकले न्यूनतम आवश्यकताबाट वञ्चित हुनु नपरोस्। अनि शान्तिपूर्ण ढंगले जीवन जिउने वातावरण मिलोस्। आर्थिक, सामाजिक, भावनात्मक, मनोवैज्ञानिक र आध्यात्मिक रूपमै सहज जीवन बाँच्ने वातावरण नै निम्नतम् आवश्यकता भित्र पर्छन्। तर, नेपाली नागरिकले यस्तो अनुभूति गर्न पाउने अवस्था कहिले आउला ? एकपटक घोत्लिनैपर्ने हुन्छ।
स्वास्थ्य सचेतना र पोषणसम्बन्धी तालिमको क्रममा पंक्तिकार एकपटक हिमाली जिल्ला हुम्ला पुगेकी थिएँ। त्यो समयमा महिलाको समूहमा एउटा प्रश्न राखेको थिएँ– तपाईंहरूका समस्या कस्ता छन् ?’ उनीहरूबाट जवाफ आयो– समस्या हाम्रा सबै राम्रा छन्। मैले भाषा बुझाउन जानिन कि भनेर त्यहीँका स्थानीयमार्फत फेरि प्रश्न र जवाफ दुबै दोहो¥याएर सोध्न लगाएँ। एउटी महिला भएको नाताले मैले उनीहरूको मनोविज्ञान सजिलै बुझेको थिएँ– समस्या झेल्नु नियति नै हो। भगवान् रिसाएकोले हामीलाई गरिब बनाउनुभयो। भगवान्ले नदिएकोले हामीले पाएनौं। र यो जे छ स्वीकार्नै पर्छ, त्यसैले समस्या जे आए राम्रै छन् भन्ने आशय बुझिन्थ्यो।
स्रोतसाधनको पहिचान र उपभोग भएका स्रोतसाधनको सही पहिचान गरी उपभोग गर्न सक्नुपर्छ। विकसित राष्ट्रले कृत्रिम ऊर्जा प्रयोग गरेर प्राकृतिक रूपमा उपभोग गर्न थालिसकेको अवस्थामा हामीले हाम्रै स्रोतसाधनको पहिचान र उपयोग गर्न सकेका छैनांै। विकासको मापन पैसा र भौतिक विकास मात्र नभएर त्यसले प्रभाव पार्ने जलवायु परिवर्तन अनि वातावरण प्रदूषणको अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन। एकातिर उत्पादन, निर्यात, विदेशी मुद्राको आर्जन महत्वपूर्ण पक्ष छन् भने अर्कोतिर, रोजगारी सिर्जना, मानव संसाधनको सही सदुपयोगको पाटोलाई नजरअन्दाज गरिएको अनुभूति हुन्छ। ऊर्जा के हो ? स्रोत के हो ? त्यसको परिचालनको तरिका के हो ? भन्ने सामान्य जानकारी पनि हुन नसक्दा पनि विकासोन्मुख अवस्थामै रहिरहनुपर्ने बाध्यता छ। हामीकहाँ भएको जल, जमिन र जडीबुटीले पर्यटन, उद्योग, सीप, सिर्जनात्मकता र रोजगारीमा कति योगदान दिन सक्छ होला ? आँकडा कहिले निकाल्ने ?यिनको मूल्यांकन, अनुगमन र अभ्यासबिनानै अर्थतन्त्रको दायरा जादुको रूपमा बढाउन त सकिन्न होला।
स्रोत साधनको परिचालन, निर्यात प्रवद्र्धन तथा आर्थिक वृद्धि दिगो विकासका आधार हुन्। जीवन निर्वाहलाई सहजीकरण गर्न रोजगारी, मानव अधिकार, मौलिक हकको प्रत्याभूति, सेवा छनोटको अवसर, सामाजिकीकरण, समानुपातिक समावेशीकरणजस्ता अन्तरवस्तुको सम्बोधन हुनु पनि दिगो विकासको आधारस्तम्भभित्रै पर्छन्। विकासका लक्ष्यहरू त्यसै कार्यान्वयन हुँदैनन्। लक्ष्यमा पुग्नका लागि उपयुक्त रणनीति, कार्यक्रम, स्रोत परिचालन, संस्थागत व्यवस्था, क्रियाकलाप सञ्चालन र प्रभावकारी अनुगमन पूर्वसर्त हुन्। नेपालले दिगो विकास लक्ष्यलाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने रणनीति बनाएको छ। दिगो विकास लक्ष्य दीर्घकालीन विकास गन्तव्य भएकाले यसलाई राष्ट्रिय, प्रादेशिक एवं स्थानीय योजना र क्षेत्रगत कार्यक्रममा समाहित नगरी कार्यान्वयनमा ल्याउन सकिँदैन।
दिगो विकास लक्ष्यका पाँच रणनीतिक स्तम्भ छन्ः पृथ्वीमा रहेका प्राकृतिक साधनस्रोत र वातावरण भावी पुस्ताका लागि समेत संरक्षण, सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गरी मानव मर्यादा एवं समानता कायम, प्रकृतिसँग सामञ्जस्य कायम गर्दै समृद्ध र समुन्नत जीवनको सुनिश्चितता, शान्त, न्यायपूर्ण र समावेशी समाज निर्माण र सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासको एजेन्डा कार्यान्वयन र सबै आयामलाई सम्बोधन गर्ने भएकाले सहस्राब्दी विकास लक्ष्यको तुलनामा यसका लक्ष्य र सहायक लक्ष्यहरू पनि धेरै छन्। दिगो विकासका १७ लक्ष्य, १६९ सहायक लक्ष्य र करिब तीन सय मापनयोग्य सूचक निर्धारण गरिएका छन्। प्राकृतिक संसाधनको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोगमार्फत गरिएको विकासले मानवीय आवश्यकताको परिपूर्ति र दिगोपना सुनिश्चित गर्छ।
प्रकाशित मिति: १ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया