काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा चलिरहेको छ । मुद्दाको फैसला आजै आउने सम्भावना रहेको छ । पटक–पटक सन्दीपविरुद्धको मुद्दाको पेसी स्थगित हुँदै आएको छ ।

जिम्बाब्वेमा हुने विश्वकप छनोट आउँदो असार ३ देखि २४ गतेसम्म हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक जिम्बाब्वेसँगै, वेष्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । जिम्बाब्वेमा विश्वकप छनोट खेल्नुअघि नेपाली टिमले दक्षिण अफ्रिकामा अभ्यास गर्नेछ । त्यसको लागि नेपाली टिम जेठ १८ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा गरिसकेको छ । जसमा सन्दीप पनि टिममा परेका छन् । तर अदालतको फैसला आइनसकेको हुँदा सन्दीपले टिमसँगै अभ्यास गरेका छैनन् ।

गत वर्षको फागुन १५ गते नाबालिग बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका सन्दीपलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले पुर्पक्षमा राख्नुनपर्ने निर्णय गर्दै विदेश जान अनुमति दिएको थियो । त्यसपछि सन्दीपले यूएईमा गएर आईसीसी क्रिकेट विश्वकप लिग टुको सिरिज खेलेका थिए । सर्वोच्च अदालतले सन्दीपको मुद्दालाई फाष्ट ट्रयाकमा टुंग्याउनु भनेर आदेश फागुन १५ मै दिइसकेको थियो । तर लामो समयसम्म पनि मुद्दाको टुंगो लागेको छैन भने पेसी सर्दै आइरहेको छ ।

गत वर्षको भदौ ५ गते सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै २१ गते नाम परिवर्तित गौशाला २६ ले गौशालास्थित प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । त्यसपछि सन्दीपविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो । क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दीप असोज २० गते स्वदेश फर्किएलगतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

 

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com