काठमाडौं । धनुषामा दुई वटा भैंसी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीले सोमबार चोरिएको दुई वटा भैंसीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
मिथिला विहारी नगरपालिका-७ तारापट्टी टोलबाट ३७ वर्षीय बलि मुखियालाई प्रहरीले पक्राउ गरेको हो।
उनले सोमबार राति १० बजे भैंसीलाई पैदल हिँडाएर जनकपुर तर्फ लगिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उक्त भैंसी मिथिला विहारी नगरपालिका-६ पथरा टोलमा बस्ने सुबल यादवको गोठबाट आइतबार राति चोरी भएको थियो।
चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय तारापट्टीबाट प्रहरी नायब निरीक्षकको कमान्डमा संयुक्त टोली खटिएको थियो।
यस घटनामा संलग्न रहेको आरोपमा मुखियामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार
प्रतिक्रिया