एजेन्सी । आफूले काम गरिरहेको कार्यालयमा तपाईंले वर्षमा औसतमा कति दिन बिदा लिनुहुन्छ ? बर्गर बनाउने एउटा कम्पनीका एकजना कर्मचारीले त्यहाँ २७ वर्षसम्म काम गर्दा एक दिन पनि बिदा लिएनन् ।

उनको कामप्रतिको समर्पण अतुलनीय थियो । त्यसैले उनलाई उनको रोजगारदाता कम्पनी तथा सहकर्मीहरुले समेत पुरस्कार थियो । सायद झण्डै तीन दशक काम गरेको कम्पनीमा एक दिन पनि बिदा नलिएबापत दिइने पुरस्कार पक्कै पनि ठूलै होला भन्ने हामीलाई लाग्छ । तर उनले पुरस्कारको रुपमा चकलेट पाए।

अमेरिकाको लस भेगासस्थित म्याककेरेन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको बर्गर चेनमा लाइन कुक तथा शेफको रुपमा केभिन फोर्डले दत्तचित्त भएर काम गर्दै आएका थिए ।

फोर्डको कामको सम्मान तथा पुरस्कारका रुपमा कम्पनीले केवल एउटा गुडी ब्याग दियो जसमा चकलेट, कलम तथा स्टारबक्सको एउटा कप जस्ता चिज थिए । यी सबै चिजहरु त्यस्तो कर्तव्यनिष्ठ कर्मचारीलाई पुरस्कारको रुपमा दिन सुहाउने खालका भने थिएनन् भन्ने धेरैलाई लाग्यो । तर सायद कसैलाई थाहा थिएन कि यहीँ सानो उपहारले फोर्डलाई मालामाल बनाउनेछ ।

आफूले अफिसबाट पाएको पुरस्कार गुडी ब्याग खोल्दै गरेको भिडियो उनले टिकटकमा हाले, जुन निकै भाइरल बन्यो । धेरै मानिसहरुले केभिन फोर्डको इमान्दारिता र समर्पणको कदर उनको अफिसले गर्न नसकेको टिप्पणी गरे । त्यसपछि फोर्डकी छोरी सेरिनाले आफ्ना पितालाई सो पहिचान दिलाउनका लागि एक गो फन्ड मी अभियान सुरु गरिन् जसको उनी हकदार थिए ।

गो फन्ड मी मा मानिसहरुको प्रतिक्रिया र सहयोग जबरजस्त थियो । उक्त अभियानमा फोर्डको नाउँमा मानिसहरुले ४ लाख १८ हजार डलर रकम सहयोग गरे ।
तीन दशकअघि नै पत्नीसँग सम्बन्धविच्छेद गरेका फोर्डले त्यतिबेलै दुई छोरीहरुको संरक्षकत्व प्राप्त गरेका थिए । पछि उनले दोस्रो बिहे गरे र परिवारको संख्या बढ्दै जाँदा बर्गर कम्पनीको जागिरले उनलाई परिवार पाल्न निकै सजिलो भयो ।

तर काम गर, फलको आशा नगर भन्ने उखान अन्ततः उनको हकमा चरितार्थ भयो । आम मानिसहरु उनको कामप्रतिको लगावबाट प्रभावित हुँदै उनलाई करोडौं रुपैयाँ सहयोग गर्न तयार भए । गो फण्ड मी अभियानमा उनलाई कतिपय ठूला हस्तीहरुले पनि सहयोग गरे । त्यहाँ प्रतिव्यक्ति सहयोग राशी २७ डलर राखिएको थियो, जसले उनको २७ वर्षे जागिरे जीवनलाई प्रतिबिम्बित गर्दथ्यो । सायद फोर्डको परिवारलाई यो अभियानले यतिधेरै मानिसको ध्यानाकृष्ट गर्ला र ठूलो रकम सहयोग प्राप्त होला भन्ने लागेको थिएन ।

प्रकाशित मिति: १४ भाद्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com