काठमाडौँ । भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका छन् । भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा सोमबार कार्गो जाँचपास बन्द गराएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीका तर्फबाट आइतबार नै जारी गरिएको विज्ञप्तिमा आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए । पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो ।

कर्मचारीहरूले राजस्व असुलीको असल नियतले भन्सार ऐन, नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने, कर्मचारीहरू गिरफ्तार गरी हिरासतमा राख्दा के–कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिएको भन्दै अमानवीय तरिकाले गिरफ्तार गरी राख्ने कार्य अविलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने माग गरेका छन् ।

पक्राउ गरिएका कर्मचारीको गोपनीयताको हक सुनिश्चित नभएको र वैयक्तिक विवरण सार्वजनिक भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने उनीहरूले माग गरेका छन् । यद्यपि अपराधमा संलग्न व्यक्ति नछुटुन् भनेर आफूहरू सचेत रहेको र त्यसमा आफूहरूको सहयोग रहने कर्मचारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com