काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ ।

मिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो । घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । उनी २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जानकरी दिएको छ ।

प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए ।

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको बताएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नीवन त्यहाँ आउनेजाने गर्थे । हत्या भएका नवीन राई उनका साथी समेत हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रहरी वृत्त, नयाँ बानेश्वर पुगेर घटनाबारे जानकारी दिने राई नै हत्यामा संलग्न रहेको बताएको छ । हत्याको कारण भने स्पष्ट भइसकेको छैन । राईका बुबा अहिले धनकुटामा छन् ।

मिलका सञ्चालक बालकृण सिवाकोटीले भने घटनाबारे प्रहरीले जानकारी दिएपछि मात्रै थाहा पाएको बताएका छन् । ‘म गौशाला बस्थेँ, बिहान प्रहरीले फोन गरेपछि आएँ’, उनले भने, ‘मिलमा विभिन्न स्थानमा छरिएको अवस्थामा शवहरु थिए ।’
उनका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् । कुमारकी आमा शुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् ।

प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com