बैतडी । बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

बाजुराबाट घर आएका महरा खोड्पेमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बुझिएको छ। महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन।

महराको शव बीच सडकमै रहेको स्थानीय प्रेमसिंह भाटले जानकारी दिए। गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदा सम्म गाडी चल्न नदिने चेतावनी दिएका भाटले बताए।

अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन्। घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com