काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइ स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आज (बिहीबार)का लागि मुद्दाको पेसी रहे पनि न्यायाधीश अभावको कारण देखाउँदै अदालतले सुनुवाइ स्थगित गरेको हो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतमा ३० जना न्यायाधीशमध्ये बिहीबार २१ जना मात्रै उपस्थित छन्। उपस्थित नभएका ९ जनामध्ये ६ जना अन्य जिल्ला अदालतबाट सरुवा भएर हाजिर हुन आएका छैनन्। ३ जना न्यायाधीश भने बिदामा बसेका छन्।

सन्दीपविरुद्धको मुद्दामा यसअघि यही असोज ४ गते, आइतबारका लागि पेसी तोकिएको दिन पनि अदालत आफैंले स्थगित गरेको थियो।

सन्दीप विरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक-पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभई सर्दै आएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।
उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीप विरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो।

१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com