काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएको छ ।

प्राधिकरणले आज शनिवार सूचना निकालेर अबको १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नहुने मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको छ । यसको मतलब दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त हुँदैन ।

मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री/वितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ । तर पटक-पटक म्याद थप्दै आएको छ ।

गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठको १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो । तर फेरि पनि म्याद थपेको थियो । अब भने अन्तिम पटक १५ दिनका लागि समय दिइएको प्राधिकरणले जनाएको छ । यससँगै नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे ती अवैध सेट मानिनेछन् ।

प्राधिकरणले यसअघि २०७८ साउन र २०७९ सालको भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । त्यसपछि २०७९ पुस १५ गते भने पूर्णरूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएपछि रोकिएको थियो ।

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुन्छन् । बाँकी सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर त्यहाँ भएको सूचना अनुसार दर्ता गराउनुपर्छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com