काठमाडौं । इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ । बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ ।

जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ । बाँकी केही वकिलको बहस बुधबार सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताए ।

‘आलमविरुद्धको मुद्दाको मिसिल खोलिएको छ । मुद्दामा सरकारी वकिल पक्षको बहस सकिएको छ । प्रतिवादीको पक्षबाट पनि बहस भएका छन् । केही अधिवक्ताको बहस बाँकी छन् । सम्भवतः बुधबार उनीहरूकोे बहस सकिनेछ,’ उनले भने, ‘त्यसलगत्तै मुद्दाको फैसला होला, बिहीबारसम्ममा फैसला भइसक्ला ।’

सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका थिए । मुद्दामा स्वतन्त्र अधिवक्ता पुष्प पौडेलले पनि बहस गरिरहेका छन् । मुद्दामा उनले बुधबार बहस गर्नेछन् । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको छ । आचरणमा कैफियत देखिएपछि न्यायाधीश बानियाँ यसअघि न्यायपरिषद्बाट तीन वर्ष निलम्बनमा परेका थिए । जिल्ला अदालत काठमाडौंमा छँदा घुस लिएको घटनामा उनी मुछिएका थिए । न्यायपरिषद्ले निलम्बन फुकुवा गरेपछि उनी न्यायाधीशमा पुनर्वहाली भएका थिए ।

न्यायाधीशसँग सेटिङ मिलाएको र जेलमुक्त हुने भन्दै समर्थकले आलमको रौतहट राजपुर नपा– ४ फरहदवास्थित गाउँमा फटका पड्काएर खुसियाली मनाइरहेको मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुबा नारायणसिंह राजपुतले बताए ।

‘प्रतिवादी आलम अदालतको फैसलापछि छुट्ने हल्ला उनका समर्थकले गाउँमा फिँजाएका छन् । मलाई पटक–पटक फोन गरेर यो विषय जानकारी गराएका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘न्यायाधीशसँग सेटिङ मिलाएको हल्ला उनीहरूले गाउँभरि फिँजाएका छन् । उनी छुट्ने भन्दै गाउँमा उनका समर्थकले पटका पड्काउन थालेका छन् ।’

रौतहट– २ संविधानसभा निर्वाचन २८ चैत ०६४ का उम्मेदवार थिए मोहम्मद आफ्ताब आलम । चुनाव जसरी पनि जित्नु थियो । त्यसका लागि बुथ कब्जा एक मात्र विकल्प थियो । त्यसैका लागि उनले बम बनाउने कालिगढ भारतस्थित बिहारबाटै ल्याएका थिए । बम बनाउने ठाउँ आफ्ना काका इद्रिसको गाईगोठ रोजिएको थियो ।

स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहभागी भए । जोरजाम गरिएका स्थानीय र बिहारबाट ल्याइएका युवाको सहयोगमा २७ चैत ०६४ को साँझ गोठमा बम बन्दै थियो । त्यही वेला अचानक बम विस्फोट हुन पुग्यो । केही युवा घटनास्थलमै ढले । घाइतेहरू ज्यान बचाउन भाग्न थाले । घटना बाहिरिने डरले आलमका सहयोगीले घाइते खोजी–खोजी समाते । अचेत हुने इन्जेक्सन दिए ।

बोरामा प्याक गरे । एक–एक गर्दै सबैलाई ट्रयाक्टरमा लोड गरे । सशस्त्र प्रहरीको स्कर्टिङ गाडीसँगै ट्रयाक्टरलाई आफ्ताबका भाइ महताबले सञ्चालन गरेको इटाँभट्टा लगियो । बोरामा प्याक घाइतेलाई तातो भट्टीमा हालियो । घाइतेमध्ये केहीका शरीर भट्टीमा छिरेन । उनीहरूलाई बन्चरोले गिँडियो । टुक्रा गरी पुनः भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नस्ट गरियो ।
बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान गर्‍यो । २६ असोज ०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् । उनका भाइ महताब आलम पनि अहिले पुर्पक्षका लागि रौतहट कारागारमा छन् ।

तर, उनको आतंक अझै जारी छ । उनीविरुद्ध घटनामा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायणको कानुनी लडाइँ अझै पनि जारी छ । अर्का मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले भने आलमविरुद्धको बयान फेरेकी छिन् ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com