काठमाडौँ । नेपाली काँग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाले पुसको चिसोमा बैठक नगरौँ भनेपछि फागुनमा सार्ने गृहकार्य भएको हो ।

गतसाता धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौँ आउन गाह्रो हुने भन्दै देउवाले बैठक सार्न प्रस्ताव गरेका थिए । बैठकमा सहभागी अधिकांश नेताहरूले त्यही बेलामा सहमति जनाए पनि महामन्त्री गगन थापाले सार्न नहुने अडान राखेका थिए ।

यसअघि काँग्रेसले दुई पटक बैठक सारिसकेको छ। अहिले बैठकको लागि गोदावरीमा हल बुक गरिसकेको अवस्थामा पार्टीभित्र बैठक सार्नेबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनले भने, पार्टी सभापतिसहित पार्टीका साथीहरूबाट पुसको चिसोमा बैठक नगरौँ भन्ने सुझाव आएका छन्। तर, त्यसबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

उनले अब बस्ने बैठकले महासमिति बैठकबारे निर्णय गर्ने बताए । उनले भने, ‘माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन पनि छ। त्यसपछि गर्ने कि भन्ने कुरा आएको छ । तर, अहिलेसम्म अर्को मिति तय भएको अवस्था भने होइन ।’

तर, पछिल्लो समय देउवाले महासमिति बैठक मात्रै नभएर केन्द्रीय समितिको बैठक पनि राख्न छाडेका छन् । प्रत्येक दुई–दुई महिनामा बस्ने भनिएपछि अहिले बस्न सकेको छैन । देउवाले फेरि पार्टी पुरानै ढङ्गबाट अघि बढाउन खोजेपछि इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले आफू निकट नेताहरूको बैठक भोलिका लागि राखेका छन् । तर, कोशी विद्रोहपछि टाढिएका महामन्त्री गगन थापा त्यस बैठकबारे बेखबर छन् ।

असोज पहिलो साता बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्नुका साथै सभापति देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन भएको थियो। सभापति देउवाले अहिलेसम्म आयोजक कमिटीको एउटा बैठक पनि राखेको छैनन् ।

देउवाकै उदासीनताको कारणले महाधिवेशनपछि शक्तिशाली अङ्ग मानिएको महासमितिको बैठक अन्योल परेको छ। तर, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण, महामन्त्री थापाको नेतृत्वमा सांगठानिक र महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्तावको काम अन्तिम चरणमा पुर्‍याइसकिएको जनाइएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com