काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर किनबेच गर्ने दुई कम्पनीको ठेगाना पत्ता लगाउन नसक्दा सोमबारको सुनुवाइ रोकिएको छ ।

अदालतले सोमबार एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छलफल गर्न सरकारी पक्ष र एनसेलका सेयर खरिद–बिक्री गर्ने पक्षलाई बोलाएको थियो । जसअनुसार खरिदकर्ता भनिएको स्पेक्ट्रलाइट युके लिमिटेड र बिक्रीकर्ता आजियाटा समूह बर्हाडलाई समेत बोलाइएको थियो । तर, उनीहरूको नामको म्याद तामेल हुन नसकेकाले आज सुनवाइ गर्न नमिलेको अदालतले जनाएको छ ।

रिट निवेदकका तर्फबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले अदालत प्रशासनले सोमबारको छलफलका लागि स्पेक्ट्रलाइट युके लिमिटेड र आजियाटा समूह बर्हाडलाई बोलाउन म्याद तामेल गर्न खोज्दा ठेगाना नभेटिएपछि अर्काे ठेगाना मागेको बताए । अब विदेशमा भएका कम्पनीलाई बोलाउन राष्ट्रिय दैनिकमा आह्वान गर्नुको विकल्प नरहेको उनको भनाइ छ । उनले भने, ‘अब पत्रिकामा दुवै पक्षको नाममा सूचना जारी गरेर बहस अघि बढ्नेछ ।’

 

सोमबार अदालतमा न्यायाधीश दीपेन्द्र अधिकारी र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले दुई पक्षको म्याद तामेल गर्न मिल्ने कुनै ठेगाना भए नभएको बारेमा रिट निवेदक पक्षलाई खुलाउन अदालतले आदेश दिएको छ । यदि निवेदकले म्याद खुलाउन नसक्ने भएमा खरिद–बिक्री गर्ने दुवै पक्षको नाममा ‘द राइजिङ नेपाल’ राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने आदेशमा उल्लेख छ ।

त्यस्तै, अर्काे पेसी ११ पुसलाई तोकिएको छ । साथै, एनसेलको सेयर खरिद–बिक्री दर्ता नगर्न २१ मंसिरमा कम्पनी रजिस्ट्रारको कार्यालयलाई दिएको अल्पकालीन अन्तरिम आदेशलाई समेत निरन्तरता दिएको उल्लेख छ ।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com