काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए। सरकारी वकिल पक्षको बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्नेछन्। त्यसपछि सन्दीपको तर्फबाट बहस हुनेछ।

काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।

लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

मंसिर २४ गते, आइतबार पेसी तोकिएको दिन लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगन गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगन गरिएको थियो।

१ वर्षभन्दा बढी समयदेखि विचाराधीन उक्त मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’बाट छिनोफानो गर्न आदेश समेत दिएको छ। यसअघि गत कात्तिक २३ गते भएको सुनुवाइमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेस गर्न आदेश दिएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com