काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा आफूलाई झुक्काएर हस्ताक्षर(सही) गराइएको बताएका छन् । नगरप्रमुख बालेन्द्र साह(बालेन)को सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुई वटा पानामा फरक-फरक तथ्याङ्क राखेर आफूलाई झुक्काएको उनले बताए ।
अधिकारीले भने, – ‘कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्ने जिम्मा मेरो हो । मेयरको सचिवालयमा काम गर्ने कर्मचारीले निर्णय प्रमाणीकरण गर्न ल्याउँछन् । निर्णय बनाएर ल्याउने क्रममा भगवती विडारीले आफ्नै छोरीको नाम राखेकी रहिछन् । स्वास्थ्य विभागले ल्याएको फायल प्रमाणीकरण गर्ने बेला मैले पहिलो पाना हेरेको हो । जहाँ पाँच जनाको नाम छ । प्रमाणीकरण गर्ने क्रममा दोस्रो पानामा मैले निज कर्मचारीहरूको कार्यसम्पादन स्तरको मूल्याङ्कन गरेर मात्र म्याद थप्नु भनेर लेखेको हो । उनले अगाडीको पानामा पाँच जना लेखेकी रहिछन् । दोस्रो पानामा ६ जनाको नाम रहेछ ।’ यसबारे आफूले बयान दिई सकेको उनले बताए ।
अधिकारीका अनुसार कार्यपालिकाको आधिकारिक रजिस्ट्रारमा पनि पाँचै जनाको नाम टाँसिएको छ । ‘मैले सही गरेको पाना विडारीले नगरप्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपानेलाई देखाइछन् । अनि नुरनिधिले कार्यकारीले सही गर्यो, तपाईँको छोरीलाई जागिर खुवाउने हो भनेका रहेछन् । बयानमा विडारीले भनेकी छन्,’ अधिकारीले भने, ‘छोरी तीन महिनादेखि इन्टर्नमा रहिछन् । सचिवालयमा को-को बस्छन् थाहा भएन ।’
वरिष्ठ शाखा अधिकृत भगवती बिडारी करिब नौ वर्षदेखि नगरप्रमुखको सचिवालयमा कार्यरत छिन् । घटना पछि न्यौपाने र विडारीसँग बयान लिएको उनले जानकारी दिए । ‘नुरनिधिले मैले कार्यकारी र मेयरलाई भन्छु भन्दै विडारीलाई उकासेछन्, कार्यपालिकाको आधिकारिक निर्णय यही हो भनेर प्रतिलिपि प्रमाणित गर्ने जिम्मा नुरनिधिको हो । उनले त्यही ६ जनाको नाम भएको पठाएछन्,’ अधिकारीले भने ।
आफूले कार्यसम्पादन स्तरको मूल्याङ्कन गरेर मात्र काममा लगाउने लेखेपछि पाँच जना भन्दा बढीले जागिर खानै नपाउने अधिकारीले बताए । ‘शुक्रवारको घटना पछि नुरनिधिलाई बोलाएर सोधको थिए । मैले पुण्यको काम गर्न खोजेको हो भन्ने जवाफ दिए । मेयरसँगको सल्लाह अनुसार तीनै जनालाई हामीले निलम्बन गरेका हौँ,’ उनले भने । न्यौपाने र विडारीसँगै स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल पनि निलम्बनमा परेका छन् ।
- -प्रशासन
प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार
प्रतिक्रिया