काठमाडौँ । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन अनन्तले निरङ्कुश राजतन्त्रवादीहरुले व्यवस्थामाथि हमला सुरु गरेको बताएका छन् । उनले त्यो हमला आफूहरूमाथिको हमला भएको बताए ।
सो पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन कार्यक्रमलाई सोमवार राजधानीमा सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताए । जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको पुनको भनाइ थियो ।
उनले आफूहरूले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे । ‘गणतन्त्रसहित उपलब्धिहरूमाथि निरंकुशतावादीहरुका तर्फबाट प्रश्न उठाउन थालिएको छ’, पुनले भने, ‘यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, हामी माओवादीहरु माथिको पनि प्रश्न हो ।’
प्रकाशित मिति: २३ पुस २०८०, सोमबार
प्रतिक्रिया