काठमाडौँ । काठमाडौँ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुलाई काठमाडौँको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसी टिभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो । शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिइन् ।
महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बच्चा चोरी गर्ने महिलाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । “घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामो बसेकी थिइन्,” एक प्रहरी अधिकारीले ग्लोबल नागरिकसँग भने, “अहिले हामीले उद्धार गरिएको बच्चा आमाबुवालाई जिम्मा लगाइसकेका छौँ ।”
प्रहरीले अनुसन्नका लागि बच्चा चोरी गर्ने महिलाकी दिदी र उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार
प्रतिक्रिया