काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले राजनीतिक स्वार्थसिद्ध गर्न भइरहेको कार्यहरूले मुलुकलाई कता लैजान्छ भनेर आत्मसमिक्षा गर्नुपर्ने बताएका छन् ।

शनिवार बाँसबारी जग्गाका प्रकरणका बारेमा आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले केही समयदेखि बाँसबारी जग्गाका विषयमा धारावाहिक प्रहसन चलेको र यसमा थप टिप्पणी गर्न नचाहेको भन्दै उनले न्यायालयले नै यसको छिनोफानो गर्ने धारणा राखेका छन् ।

उनले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न भएका कार्यहरूले मुलुकलाई कता लैजान्छ भनेर एकपटक सबैले आत्मसमिक्षा गर्नुपर्ने बताए ।

उनले हाल देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हित कसले गर्छ भनेर युवाहरूले आफैलाई प्रश्न सोध्ने बेला भएको बताएका छन् ।

उनले युवाहरू स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न नचाहने बताए । उनले राजनीति स्टण्टका कारण देशमा यस्तो परिस्थिति सिर्जना भएको भन्दै मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला भनेर आत्ममन्थन गर्न आह्वान गरे।

यस्तो छ, चौधरीले सामाजिक संजालमा लेखेको स्टाटस:

१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारीक घराना। १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौं पुस्ता पुगेको छ। नेपालको कुल राजश्वमा करिव २ प्रतिशत योगदान, देशको सबैभन्दा ठूलो रोजगारदाता, नेपाल बाहिर पनि तीब्र व्यापार विस्तार गरेर नेपाली चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौं । हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौ । देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ। भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपतकालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिदै आएका छौं। हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसङ्ग हार्वर्ड बिजिनेस स्कूल, बिल र मेलिन्डा गेट्स फाउन्डेशन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।

आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हीत कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको छ। के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ? आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौं ।

यो देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ।
केही समयदेखि बासबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न। न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भैरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमिक्षा गरौं ।

प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com