निर्वाचन आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफारिस गरेको हो। स्थानीय जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ मा सकिने भन्दै आयोगले त्यसअगावै स्थानीय तचहको निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व रहेको जनाएको छ।

आयोगले प्रधानमन्त्री देउवालाई स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जानकारी पनि गराएको छ।

भेटमा प्रधानमन्त्री देउवाले आयोगले प्रस्ताव गरेको मितिमा एकै चरणमा निर्वाचन गर्न आवश्यक प्रक्रिया पूरा गरी मिति तोकिने जानकारी दिए।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीका कार्यहरु गर्न निर्वाचन आयोगलाई आग्रह पनि गरेका छन्।

यसैबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्नका लागि तयार रहेको जनाएको छ ।

स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति जारी गर्दै सामान्यतया निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायतका काम निरन्तर भइरहेकाले आयोगले स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो। ‘स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुनबमोजिम आयोगलाई सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएपनि स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वतयारीका अन्य कार्यहरू निरन्तर गरिरहेको छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको स्पष्ट गरेको छ।’

आयोगले विभिन्न कारणले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नु सकरात्मक रहेको पनि उल्लेख गरेको छ। यसका साथै कोभिड–१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल बताइएको छ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com