काठमाडौं । भारतले १२ घण्टा मात्रै (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) विद्युत् आयात गर्न मिल्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । बिहीबार भारतले तीन महिना अर्थात् १६ असार (३० जुन)सम्म विद्युत् किन्न स्वीकृत दिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । त्यो पनि एक सय ५० मेगावाट घटाएर तीन महिनाका लागि आफ्नो खुला बजारबाट नेपाललाई विद्युत् बिक्री गर्ने भएको हो ।

भारतले यसअघि विद्युत् आयात गर्न दिएको अनुमतिको म्याद आगामी आइतबार सकिँदै छ । यसअघि एक वर्षका लागि यस्तो सम्झौता नवीकरण हुने गथ्र्यो । यद्यपि, असारपछि नेपालमा बर्खाका कारण विद्युत् उत्पादन बढ्दा निर्यात नै गर्न सकिन्छ । तर, आगामी हिउँदमा विद्युत् आयात गर्न पुनः स्वीकृत लिनुपर्नेछ ।

पहिला ढल्केबरबाट ६ सय ५० र टनकपुरबाट ५४ मेगावाट विद्युत् आयात गर्न पाउने स्वीकृति थियो । तर, अहिले ढल्केबर–मुजफ्फरपुरबाट पाँच सय र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट विद्युत् आयात गर्न पाइनेछ । बिहीबार अनुमतिपत्रको नवीकरण भएसँगै दिउँसोको समयमा हुन सक्ने लोडसेडिङ टरेको छ । तर, सोमबारबाट रातिको समयमा लोडसेडिङ हुने सम्भावना देखिएको छ ।

अनुमतिपत्र एक वर्षका लागि नवीकरण गर्न प्राधिकरणले तीन महिनाअघि नै प्रस्ताव पठाएको थियो । तर, भारतले चुनावमा बढी विद्युत् चाहिने बहाना गर्दै अनुमतिपत्र नवीकरण गर्न आनाकानी गरेको थियो । साथै, सत्ता गठबन्धनमा आएको परिवर्तन, दीर्घकालीन विद्युत् व्यापार सम्झौताविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटलगायतका कारण पनि भारतले अनुमतिपत्र नवीकरण गर्न आनाकानी गरेको बताइन्छ । यद्यपि, भारतले बंगलादेशलाई पनि यही मोडेलमा विद्युत् किन्ने स्वीकृति दिएको छ ।

भारतबाट व्यापारिक रूपमा चैत ०७७ बाट विद्युत् आयात सुरु भएको थियो । कात्तिक ०७८ देखि भने भारतमा विद्युत् निर्यात सुरु भएको थियो । हिउँदमा आयात र बर्खामा निर्यात हुने गर्छ । यससम्बन्धी छुट्टाछट्टै अनुमतिपत्र हरेक वर्ष नवीकरण गर्नुपर्छ । यसमा नेपालको कुनै अधिकार सिर्जना हुँदैन । भारतले जसरी स्वीकृत दिन्छ, सोहीअनुसार नै नेपालले विद्युत् खरिद–बिक्री गर्न पाउने प्राधिकरण पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारी बताउँछन् ।

‘यो कुनै विद्युत् खरिद–बिक्री सम्झौता होइन । यसमा कुनै सर्त पनि लागू हुँदैन । भारतले दिएको स्वीकृत हो,’ उनले भने, ‘भारतले जसरी स्वीकृत दिन्छ, सोहीअनुसार विद्युत् खरिद–बिक्री गर्ने हो । यसमा हाम्रो छुट्टै अधिकारी सिर्जना हुँदैन ।’

यसरी हुन सक्छ रातमा लोडसेडिङ
नेपाललाई पिक आवर (बिहान ६ देखि १० बजे र  साँझ ६ देखि १०–११ बजेसम्म) १८ सयदेखि २२ सय मेगावाटसम्म विद्युत् चाहिन्छ । अहिले पिक आवरमा उद्योगहरूको विद्युत् कटौती गरेर १७–१८ सय मेगावाट विद्युत् खपत भइरहेको छ । अहिले नेपालमा विद्युत्को जडित क्षमता २९ सय मेगावाट हाराहारी छ । बर्खामा जडित क्षमतामै विद्युत् उत्पादन हुने हुँदा निर्यात गर्न सकिन्छ । तर, हिउँदमा जडित क्षमताको ३०–४० प्रतिशत मात्रै उत्पादन हुन्छ । अहिले पिक आवरमा मुस्किलले एक हजारदेखि १२ सय मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ ।

स्वदेशी माग धान्न ६ सय ५० मेगावाटसम्म विद्युत् आयात गरिएको छ । भारतबाट दिउँसो पाँच सय ४४ मेगावाट विद्युत् आयात गर्दा स्वदेशी माग धान्न सकिन्छ । तर, रातको समयमा भने विद्युत् आपूर्तिमा केही चुनौती हुन सक्ने प्राधिकरणका प्रवक्ता घोष बताउँछन् ।

अब गर्मीको सिजन आएसँगै राति पंखा, एसीहरूको प्रयोग बढ्छ, त्यसले विद्युत्को माग थप बढाउनेछ । रातिको पिक आवर ५–६ बजेदेखि १० बजेसम्म झन्डै १८ सय मेगावाट विद्युत् चाहिन्छ । तर, स्वदेशी उत्पादन भने बढीमा १२ सय मेगावाटसम्म हुन्छ । त्यो अवस्थामा रातिको समयमा लोडसेडिङ गर्ने अवस्था आउने प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘सकेसम्म घरायसी क्षेत्रमा लोडसेडिङ हुन दिँदैनौ । तर, उद्योगहरूमा भने विद्युत् कटौती हुन सक्छ,’ स्रोतले भन्यो, ‘हामीले भारतलाई राति पनि विद्युत् उपलब्ध गराउन प्रस्ताव गरेका छौँ । त्यो स्वीकृत भयो भने समस्या हुँदैन ।’

जलाशय र अर्धजलाशय आयोजना पिक आवरमा मात्रै चलाउने तयारी

भारतले रातिको समयमा विद्युत् नदिने भएसँगै प्राधिकरणले जलाशय र अर्धजलाशय आयोजना पिक आवरमा मात्रै सञ्चालन गर्ने योजना बनाएको छ । एक मात्रै जलाशययुक्त आयोजना कुलेखानीबाट क्यासकेडसहित एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । यीबाहेक चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, एक सय ४४ मेगावाटको कालीगण्डकी, ६९ मस्र्याङ्दी, ७० मेगावाटको मध्य–मस्र्याङ्दी, २२ मेगावाटको चिलिमे र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनालाई अर्धजलाशय मोडेलमा सञ्चालन गर्न सकिन्छ । आजको नयाँपत्रीका दैनिकमा समाचार छ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com