काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ स्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको बोट अपरिचित समूहले काटेको छ । बिहीबार राति १ बजे आएका १५/२० जनाको समूहले ठाकुरानीको बारीको बुद्धचित्तको बोट काटेको हो ।

बोट काटेको समूहले उनको घरमा समेत चारवटा सकेट बम राखेको थियो । बम राखिएको ठाउँ नजिक जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट समेत फेला परेको छ । स्थानीयले राति नै कोभ्रे प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरी पुग्दा बोट काटिएको थियो ।

घटनास्थलमा खटिएका प्रहरी अधिकृतहरुले बताएअनुसार, राति रुख काटेको जस्तो आवाज आउने वित्तिकै घरबाट मानिसहरु बाहिर निस्किन खोजेका थिए । ‘तर, बाहिर निस्किँदा मारिदिने धम्की दिँदै भित्रै थुनेका रहेछन्’, ती अधिकृतले भने, ‘मेसिन चलेको आवाज आइरहँदा पनि उनीहरुले चुपचाप बस्नबाहेक केही गर्न सकेनछन् ।’

बुद्धचित्त मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिइएको काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन् । आरोपीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com