काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव राखेका छन्।

थापाले निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प रहेको बताएका हुन् ।

संवाद यात्राको तेस्रो चरणमा आइतबार बाँकेको खजुरामा बोल्ने क्रममा थापाले काँग्रेस र एमाले मिलेको अवस्थामा कानुन संशोधन गर्न सकिने बताए । ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैँको लागि बन्द गरिदिऔँ,’ थापाले भने, ‘१५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले काँग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैँका लागि बन्द गर्ने कानुन बनाऔँ ।’

एमालेसँगको संवाद निर्वाचन अघि गठबन्धन नगर्ने विषयमा हुनुपर्ने उनले बताए । निर्वाचन अगाडि गठबन्धन नगर्ने काँग्रेसले निर्णय गरेको जस्तै नेकपा एमालेलाई त्यस्तै निर्णय गराउन संवाद आवश्यक रहेको उनले बताए ।

‘त्यो कसरी पुर्‍याउन सकिन्छ रु निर्वाचन प्रणाली बदलेर सकिन्छ । सकिन्छ भने संविधान बदलौँ । सकिन्न भने कानुन भए पनि बदलौँ,’ थापाले भने । एमालेसँगको छलफल सरकार बनाउन केन्द्रित नहुने उनले बताए ।

२०८१ साल काँग्रेसको पुनर्जागरणको साल बनाऔँ भन्ने पार्टीमा आफ्नो प्रस्ताव रहेको उनले सुनाए । काँग्रेसभित्रै सामर्थ्य र शक्ति रहेकाले त्यसलाई चिन्नुपर्ने उनले बताए ।

पार्टीलाई यो वर्ष शुद्ध र सुदृढ बनाउन सरकार बनाउनमा ध्यान दिन नहुने थापाले बताए । ‘२०८१ सालभर बालुवाटारतिर आँखा नलगाउने, सिंहदरबारतिर आँखा नलगाउने,’ थापाले भने, ‘कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु भएको छ । चलाउन दिऔँ । उहाँहरूले मजाले चलाउनुस् । हामीले फर्केर पनि नहेरौँ ।’

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com