काठमाडौं । चौधरी ग्रुपले नेपालको हस्पिटालीटी उद्योगलाई थप उचाइ दिन भारतको प्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको शुरुआत गरेको छ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा भव्य कार्यक्रमकाबीच ताजसँगको बृहत साझेदारीमा हस्ताक्षर गरेका हुन्।

सिजीले ताज ग्रुपसँग मिलेर नेपालमा तीनवटा होटेल सञ्चालनमा ल्याएको छ । यस्तै, थप तीनवटा होटेललाई पनि ताजमा रूपान्तरण गर्ने गरी निर्माणको काम भइरहेको सिजी हस्पिटालिटीले जनाएको छ।

काठमाडौंको भिभान्ता, चितवनको मेघौलीमा मेघौली सेराई र भरतपुरमा भिभान्ता सञ्चालनमा छन् । ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ । नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यकै रूपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने कुरामा पनि सहमति भएको सिजी हस्पिटालिटीले जनाएको छ । ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिन सक्ने बताइएको छ ।

हिमालयन बेल्ट र इन्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला कम्पनीसँग मिलेर नेपालमा लगानी विस्तार गर्दै आइरहेको छ । हालै मात्र नेपालमै भारतीय दुईपाङ्रे ब्रान्ड हिरोको एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । केही समयअघि अडानीसँग मिलेर नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहारमा निर्यात सुरु गरिसकेको छ ।
‘हामी टाटा ग्रुपसँग दशकौँदेखि सहकार्य गर्दै आएका छौँ, आगामी दिनमा थप प्रख्यात लगानीकर्तासँग सहकार्य गरेर नेपालमा लगानी भित्राउने छौं,’ सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ ।’

विश्वव्यापी स्थापित ताजसँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो योगदान पुगेको प्रबन्ध निर्देशक चौधरीले बताए । ‘नेपालको पर्यटन क्षेत्र र हस्पिटालिटीमा यसले विश्वव्यापीरुपमै राम्रो सन्देश जानेछ । हामी यो समूहसँग मिलेर काम गर्दैछौं । यसको फाइदा नेपाल र नेपालीलाई पुग्ने हाम्रो विश्वास छ’, उनले भने ।

चौधरी ग्रुपले भारतको चर्चित ब्राण्ड गोदरेज, इफ्को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com