काठमाडौँ । प्रमुख प्रतिपक्षी काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद केसीले प्रहरीको कानुन विपरीत जथाभावी सरुवा किन गरेको भनेर प्रश्न गरेका हुन्।
गृह मन्त्रालयको १०० दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै केसीले आक्रोश व्यक्त गरेका थिए । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडिओलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको भनाइ थियो।
‘सरकारले यो १०० दिनको अवधिमा मैले गृह मन्त्रालयको १०० दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साह, प्रतिबद्धता, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टिम प्रवेश गरेको थियो । मैले १०० दिनको कार्यक्रममा कुनै पनि पाएन, ‘केसीले भने, ‘सय दिनमा १७ चोटि प्रहरी परिवर्तन भए । ३४ सय भन्दा बढी प्रहरी यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडिओ र सहायक सिडिओ परिवर्तन भएका छन् । १०० दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जबकि प्रहरी नियमावलीमा स्पष्ट रूपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिए मात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न हुन्न भन्ने छ ।’
प्रहरीको चेन अफ कमान्ड नै कमजोर बनाउन खोजिएको केसीको भनाइ थियो । ‘अहिले सरुवा आतंक, आतंक मात्र होइन प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छाया बनाउने खालको जुन काम गरिएको छ त्यो गृहमन्त्रीबाट आशा गरिएको होइन।
तपाईँबाट निश्चित पद्धति र मर्यादाभित्र बसेर प्रक्रियाबाट हुन्छ भन्ने मलाई चाहिँ विश्वास थियो, ‘केसीले भने, ‘जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छाया बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु ।
- प्रशासन
प्रकाशित मिति: ५ असार २०८१, मंगलबार
प्रतिक्रिया