काठमाडौं । टी-२० विश्वकप क्रीकेट अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा गलत व्यवहार गरेकाे विषयलाई लिएर बंगलादेशी बलर तान्जिम हसन सकिब दण्डित भएका छन् । खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिमलाई आचारसंहिता ताेडेकाे आराेपमा आइसीसीले कारवाही गरेकाे हाे ।

नेपालकाे इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान राेहित पाैडेलसँग नाेकझाेक गरेका थिए । उनले राेहितकाे शरीरमा हात लगाएकाेसमेत पाइएपछि कारवाही भाेगेका हुन्।

तान्जिमलाई म्याच फीकाे १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीकाे खेलाडी आचारसंहिताकाे धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई शरीरमा छुन पाउँदैन । अन फिल्ड अम्पायर असन राजा र साम नाेगाज्स्कीकाे सिफारिसमा थर्ड अम्पायर जयरमन मदनगाेपाल र फाेर्थ अम्पायर कुमार धर्मसेनासमेत सहमत भएपछि कारवाही भएकाे हाे ।

तान्जिमले आफ्नाे गल्ति स्वीकार गरिसकेका छन् । उनले आफूलाई गरिएकाे सजाय पनि स्वीकारेकाले औपचारिक सुनवाइ गर्नु नपरेको आइसीसीले जनाएको छ ।

खेलपछिकाे प्रेसमिटमा नेपाली कप्तान पाैडेललाई याे घटनाकाे विषयमा पत्रकारले साेधेका थिए । पाैडेलका अनुसार तान्जिमले उनलाई आँखा तरेर ‘हिट मी’ भन्दै उक्साउन खाेजेका थिए ।त्यसपछि आफूले पनि ‘बल मी’ भनेर जवाफ दिएकाे उनकाे भनाइ छ ।

प्रकाशित मिति: ६ असार २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com