काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ति मगरले नेपालमा अमेरिकी एयरफोर्सका जहाजहरु बारम्बार आइरहेको भन्दै सरकारसँग जवाफ मागेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयरफोर्सको पाँचवटा जहाज कतारबाट प्रत्येक साँझ आउने र विहान फर्कने गरे । यही असार २ गते पनि मलेसियाबाट सोही एयरफोर्सको जहाज साँझ आएर विहान फर्कियो । यी जहाजहरुमा के सामान आयो र कसका लागि ल्याइयो?’
अमेरिकी एयरफोर्सको विमान आएको र गएको विषय सरकारी वा नीजि संचारमाध्यम कसैले पनि प्रकाशन–प्रसारण नगरेको भन्दै सांसद मगरले यस विषयमा सरकारको ध्यानाकर्षण गराए।
‘सामान्य (सामान) हो भने प्राइभेट जहाजमा आउनुपर्ने । सैन्य सामग्री हो भने किन र के प्रयोजनले ल्याइयो ? यसका बारेमा न सरकारी संचारमाध्यमबाट जानकारी भयो, न प्राइभेट संचारमाध्यमबाटै,’ उनले भने।
नेपालको अस्थिर राजनीति र शक्ति राष्ट्रहरुको स्वार्थका कारण नेपालको सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर हुन आग्रह गरे।
प्रकाशित मिति: ११ असार २०८१, सोमबार
प्रतिक्रिया