काठमाडौं । नेपाल राष्ट्र बैंकको पटके कारबाहीमा पर्दै आएको प्रभु बैंकको अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ भने संस्थापक सेयरधनीहरु धमाधम शेयर बेचेर निस्कन थालेका छन् । कमिसनको खेलमा बैंकका संचालक तथा ब्यबस्थापकहरुले राष्ट्र बैंकलाई प्रभावमा पारेर कर्जा प्रवाहमा मनपरि गर्दा खराब कर्जा अनुपात करिब ५ प्रतिशत पुगेको छ । खराब कर्जाको अनुपात ३ प्रतिशत भन्दा माथि जानुलाई चिन्ताजनक अवस्था भनेर बुझ्ने गरिन्छ भने ५ प्रतिशत पुगेपछि संकटग्रस्त भन्ने बुझिन्छ ।

हालै मात्र प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा घोटालामा संलग्न प्रभु बैंकका एक दर्जन उच्च तहका कर्मचारीलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको थियो । प्रभु फाइनान्स हुँदा देखि नै उच्च तहमा बसेर चलखेल गर्दै आएका बैंकका सीईओ अशोक शेरचनलाई सम्पत्ति शुद्धीकरण प्रकरणमा कारबाही गरेको थियो । बैंक संकटमा पर्ने सुनिश्चितता देखेपछि संस्थापक शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने संचालक रमेश खड्का, शंकर कालिकोटा र स्वतन्त्र संचालक प्रा.डा गीता प्रधानले पदबाट अचानक राजिनामा दिएर बाहिरिएका छन् । लिलाप्रकाश सिटौला अध्यक्ष रहेको बैंकको संचालक समितिमा हाल तारा मानन्धर, बिर्ख बस्नेत, अभिषेक बज्राचार्य र अंगिरमान सिंह सदस्य रहेका छन्।

बैंकको उच्च ब्यबस्थापनको मनोमानीले आफू समेत फस्ने डरले केहि संचालक समिती सदस्यहरुले राजीनामा दिने तयारी गरेको बुझिएको छ । बैंकको उच्च ब्यबस्थापनमा सीईओ अशोक शेरचन देखि वरिष्ठ  डेपुटी सिईओ मनोज न्यौपाने र मणिराम पोखरेल रहेका छन्। यसैगरी विभागीय प्रमुखहरुमा राजेश भण्डारी, निरज लम्साल, रेनुप्रसाद पाण्डे, दिपेश प्रधान, रश्मि पन्त, लेखबहादुर पुन, सुगेन शाक्य र रिवास श्रेष्ठ रहेका छन्।

प्रभु बैंकमा कार्यरत उच्च पदस्थ कर्मचारीहरु

केही वर्ष पहिले खराब कर्जा भएका किष्ट र ग्राण्ड बैंकलाई मर्जरमा ल्याएको प्रभु बैंकले पछिल्लो समय सेन्चुरी बैंकसँग मर्ज गरेको थियो। अन्ततः प्रभु बैंक अहिले किष्ट र ग्राण्ड बैंककै लाइनमा आइपुगेको छ।

खराव कर्जा बढेर आम्दानीमा निरन्तर गिरावट आएपछि प्रभु बैंकको अस्तित्व समाप्त हुने चिन्ता निक्षेप तथा लगानिकर्ताहरुमा बढेको छ। बैंक तथा वित्तीय क्षेत्रमा प्रभु बैंकको अवस्थाका बारेमा चिन्तता व्यक्त गर्दै बहस समेत हुन थालेका छन् ।

यस्तो छ, आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासको बित्तिय प्रतिवेदन

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण राम्रो आउने अनुमान गरिएपनी अन्ततः विवरण डरलाग्दो आएको छ । अघिल्लो वर्ष शेयरधनीहरुलाई कुनै मुनाफा वितरण नगरेको प्रभु बैंकले यो वर्ष पनि निराश बनाउने निश्चित छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद मुनाफाको तुलनामा ७.२७ प्रतिशतले गिरावट आएको छ। अघिल्लो वर्ष ११ रुपैयाँ ०७ पैसा रहेको प्रती शेयर आम्दानी घटेर अहिले १० रुपैयाँ २६ पैसामा झरेको छ । यसैगरी कम्पनीको वितरण योग्य मुनाफा ९४ पैसा मात्रै रहेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन र कर्जा प्रवाह पनि घटेको छ । अघिल्लो वर्ष ३.४८ प्रतिशत रहेको बैंकको खराब कर्जा १.३३ प्रतिशतले वृद्धि हुँदै ४.८१ प्रतिशत पुगेको छ । समग्र प्रतिबेदनलाई नियाल्ने हो भने बैंक आफैंले सार्वजनिक गरेको प्रतिबेदनले पनि संकटको स्पष्ट संकेत गरेको छ ।

त्यस्तै, प्रभु बैंकले सजिलै ग्राहक ठग्ने गरेको प्रमाण ग्लोबल नागरिकले प्राप्त गरेको छ । बैंकको ठगी सम्बन्धीको विशेष सामाग्री आगामी अँकमा प्रस्तुत गर्नेछौं ।

प्रकाशित मिति: १३ असार २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com