काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले कारवाही गर्ने तयारी गरेको छ।

बुधबार साँझमात्रै ढकालले गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई पार्टीको अवस्था निराशाजनक रहेको भन्दै प्रतिवेदन बुझाएका थिए भने दिउँसैदेखि सञ्चारमाध्यममा प्रतिवेदन भएका कुराहरू बाहिर आएको थियो।

प्रतिवेदनमा भनिएको छ, ‘मलाई मेरो पार्टीको माया छ र चिन्ता छ । भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन्। मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ ।’

सभापति लामिछानेसँग दूरी बढिरहेका बेला प्रतिवेदन पार्टीमा नबुझाइ त्यसका विषयवस्तु सार्वजनिक गरेको भन्दै पार्टीभित्र एक समूह तत्कालै महामन्त्री ढकाललाई जिम्मेवारीबाट हटाउनुपर्ने माग राखेका छन्।

ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर पार्टीको अवस्थाबारे बुझेका थिए। ढकालले पेश गरेको प्रतिवेदनमा पार्टी अवस्था अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी दुई तीन सिटमा खुम्चिने दाबी गरेका छन्।

सभापति लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीको विस्तारभन्दा पनि खुम्चिने अवस्था बढ्दै गएको प्रतिवेदनमा उल्लेख भएको रास्वपाका एक नेताले बताए।

ती नेताका अनुसार ढकालको प्रतिवेदनमार्फत रास्वपाभित्रको उकुसमुकुस विस्फोट भएको छ। उकुसमुकुस विस्फोट गराइँदा आफूमाथि कारबाही हुन सक्ने आँकलन ढकालले प्रतिवेदनको अग्रपृष्ठमै बुधबार उल्लेख गरेका छन्।

प्रकाशित मिति: १४ असार २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com