काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर र धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १०५४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ६९६ र नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ६१० मत ल्याएकी छन् ।

धनगढी उपमहानगर पालिकामा शुरुवाति नतिजामै गोपाल हमालले फराकिलो अग्रता बनाएका छन् । १०० मत गणना हुँदा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।

१०० मत नै गणना हुँदा धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनले ३३ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ३१, नेकपा एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् ।

जनकपुर उपमहानगर पालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले अग्रता लिएका छन् । साहले २५९ मत सहित अग्रता लिदा गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मत मात्रै पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका लालकिशोर निवर्तमान मेयर हुन् ।

कांग्रेसले जसपाका उम्मेदवारलाई समर्थन गरेपछि मनोज स्वतन्त्र उम्मेदवार बनेका थिए । जकपुरकै जस्तो नतिजा धुलिखेल नगरपालिकामा पनि आएको छ ।

प्रारम्भिक नतिजा अनुसार, धुलिखेलमा स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले ५७२ मत सहित अग्रता लिएका छन् । उनलाई निवर्तमान मेयर अशोककुमार ब्याञ्जुले पछ्याइरहेका छन् । ब्याञ्जु एमालेका उम्मेद्वार हुन् । गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठ उम्मेदवार छन् । उनले १८ मत मात्रै पाएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका प्रलादकुमार क्षेत्रीले अग्रता लिएका छन् । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका क्षेत्रीले ३४५ मत ल्याउँदा कांग्रेसको उम्मेदवार चिरञ्जिवी हमालले भने १० मत मात्रै पाएका छन् । क्षेत्रीलाई एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले १५६ मत सहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com