काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भीम रावल आफैँ पार्टीबाट निक्लिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका पूर्व उपाध्यक्ष रावलले पार्टी छाडिसकेकाले उहाँलाई निकालिएको नभई आफैँ छाडेको बताएका हन ।

‘पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि उहाँ पार्टी सदस्य हुनुभएन । त्यसैले पार्टीले निकालेको होइन आफैँ निस्किनुभएको हो, ‘महासचिव पोखरेलले भने । पुस १० गते एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।
महासचिव पोखरेलले भने, ‘‘रावलजीले एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न सक्नुभएन । संसदभित्रको संसदीय ह्विप उल्लंघन गर्नुभयो । पार्टी र पार्टीका अध्यक्षविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । त्यसैले पार्टी सदस्य रहनुभएन ।’’

संसद् विघटनपछिको परिस्थितिमा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरू विपक्षमा उभिएका थिए ।

‘‘रावलजी आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जंगी शासन लगाउने गर्नुभएको थियो । अरूमाथि आफूले गर्ने जंगी व्यवहार, आफू भने नियममा बस्न पर्दैन ।’’ पोखरेलले भने । पार्टीले रावललाई सुध्रिने अवसर दिए पनि नसुध्रिएपछिको परिणाम भएको उनले बताए।

‘पार्टीको महाधिवेशनमा उपाध्यक्षमा बस्न आग्रह गर्दा मान्नुभएन । केन्द्रीय सदस्यमा पनि पराजित हुनुभयो । ‘‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौँ । महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौँ, ‘महासचिव पोखरेलले भने । रावलजी सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति: १२ पुस २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com