काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ ।

वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ-मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तीब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ ।

‘एउटा चक्रवात अरेबियन सीबाट पश्चिम तिर गइसकेको छ तर बंगालको खाडीमा बनेको डिप्रेसन जमिनभित्र छिरे पनि त्यसको सबैभन्दा बाहिरी घेराको बादल नेपालसम्म आएको छ,’ मौसमविद मानन्धरले भनिन्, ‘चीन तिरबाट पनि ट्रिगर भएर आइराखेको छ । त्यसैले बादल बन्ने र वर्षा हुने प्रणाली अनुकूल भएर पानी परेको अवस्था छ ।’

मनसुनी वायु पूर्वबाट पश्चिमतिर बहने भएकाले अहिले विकसित भएको वर्षा गराउने बादल पनि पश्चिमतिर सरिरहेको छ ।

आकस्मिक बाढी र पहिरोको जोखिम

जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा चितवनको कल्याणपुरमा सबैभन्दा धेरै १५३ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी नारायणी फिल्ड अफिसमा १२३, शक्तिखोरमा १०७ र देवघाटमा ९३ मिलिमिटर वर्षा मापन भएको छ।

भारी वर्षाका कारण माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गर्दै नारायणगढ-मुग्लिङ सडकखण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

वर्षा गराउने बादल अहिले कर्णाली र सुदूरपश्चिमसम्म फैलिएको छ । एक घण्टा अगाडिको अवस्था हेर्दा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । ‘अहिले वागमती, गण्डकी र लुम्बिनी जोडिएका भूभागतिर धेरै वर्षा भइरहेको देखिन्छ,’ मौसमविद मानन्धरले भनिन्, ‘अहिलेको अवस्थाको कुरा गर्दा कर्णाली र सुदूरपश्चिममा पनि वर्षा सुरु भइसकेको छ ।’

उनका अनुसार आज दिनभरी नै पानी पर्ने, एकछिन रोकिने र फेरि पानी पर्ने अवस्था हुनेछ । आज दिउँसो र रातिमा पनि वर्षाको सम्भावना छ । भोलि (सोमबार) भने आजको तुलनामा कम वर्षा हुने पूर्वानुमान छ ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com