काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टिकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित स्पष्टिकरण दिन निर्देशक घिसिङलाई भनिएको छ । घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत पेस गर्न सरकारले भनेको छ ।
प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।
ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधवार बिहानका लागि बोलाइएको थियो । बिहान ११ बजे बस्ने बैठकका लागि मंगलबार राति साढे ९ बजे पत्राचार गरिएको थियो । तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन ।
यस्तो छन् कुलमानलाई सोधिएका १५ बुँदा
१) नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु ।
२) नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।
३) नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरुसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारीपत्रहरुको विवरण ।
४) नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरुको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको विवरण । साथै, ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरुको विवरण ।
५) नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण ।
६) नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरुबाट Power Evacuation पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरुको विवरण ।
७) हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धिधत ६० मेगावाटको खिम्ति–१ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण÷प्रतिवेदनहरु ।
८) विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम, भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।
९) विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमण सम्बन्धी विवरण। ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।
१०) डेडिकेटेड फिडर÷ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सज्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सज्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरु ।
११) नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्था सहित) ।
१२) हाल बोलपत्र आव्हानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु÷सामाग्रीहरुको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकम सहित) ।
१३) नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरुमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरुको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।
१४) महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याइएका बेरुजुमध्ये हालसम्म फछ्योट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।
१५) नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरुको पद र योग्यता खुलेको विवरण ।
प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार
प्रतिक्रिया