काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि उनले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् ।

राष्ट्रपति युनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आपत्कालीन सैन्य कानुन घोषणा गरेका थिए । उनले बजेट विधेयकमा संसदीय सङ्घर्षका बीच ‘साम्यवादी शक्तिहरू’बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको दाबी गरेका थिए ।

‘उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट उदार दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्वहरूलाई उन्मूलन गर्नु छ । यसैले म आपत्कालीन सैन्य कानून घोषणा गर्दछु,’ युनले राष्ट्रलाई प्रत्यक्ष टेलिभिजन सम्बोधनमा भनेका थिए, ‘जनताको जीविकोपार्जनलाई कुनै ध्यान नदिई विपक्षी पार्टीले महाभियोग, विशेष अनुसन्धान र आफ्नो नेतालाई न्यायबाट जोगाउनका लागि मात्र शासनलाई कमजोर बनाएको छ ।’

पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्रेटिक पार्टीले अर्को वर्षको बजेट विधेयकलाई लिएर झगडा जारी राख्दै गर्दा राष्ट्रपति युनको यो आश्चर्यजनक कदम आएको थियो । विपक्षी सांसदहरूले गत हप्ता संसदीय समितिमार्फत उल्लेखनीय रूपमा घटाएको बजेट योजनालाई अनुमोदन गरेका थिए ।

‘हाम्रो राष्ट्रिय सभा अपराधीहरूका लागि आश्रयस्थल बनेको छ, न्यायिक र प्रशासनिक प्रणालीलाई पक्षाघात गर्न र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्ने विधायी तानाशाहीको अड्डा बनेको छ,’ युनले भनेका थिए ।

उनले विपक्षी सांसदहरूमाथि देशलाई लागुऔषधको शरणस्थल र सार्वजनिक सुरक्षा अराजकताको अवस्थामा परिणत गर्नका लागि लागुऔषध अपराधहरूविरुद्ध लड्ने र सार्वजनिक सुरक्षा कायम राख्नेजस्ता राष्ट्रका मुख्य कार्यहरूका लागि आवश्यक सबै प्रमुख बजेटहरू कटौती गरेको आरोप लगाइरहेका छन् ।

यो घोषणालगत्तै सैनिकहरू संसद् भवन र वरपरका क्षेत्रमा तैनाथ भएका थिए । उनीहरूले संसद् भवनमा कसैलाई पनि प्रवेश दिएका थिएनन् ।

त्यसको प्रतिवाद गर्दै प्रतिपक्षी दल सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति योलले विनाकारण सैन्य शासन लागू गरेको र यो असंवैधानिक समेत भएको प्रतिपक्षीको भनाइ थियो ।
त्यसपछि फेरि विशेष सम्बोधन गर्दै राष्ट्रपति युनले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताए । उनले संसदले मार्शल ल हटाउन माग आएकाले आफूले सेनालाई फिर्ता बोलाएको उल्लेख गरेका छन् ।

यसअघि दक्षिण कोरियाका सांसदहरूले नेसनल एसेम्बलीको मध्यरात्रि सत्रमा ‘मार्शल ल’ लगाउने निर्णय फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेका थिए । यसैकारण राष्ट्रपति युन आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com