काठमाडौं । अफगानिस्तानको गृह मन्त्रालयभित्र भएको आत्मघाती बम आक्रमणमा परी शरणार्थी तथा देशफिर्ती सम्बन्धी मन्त्री खलिल हक्कानीको मृत्यु भएको छ ।

चरमपन्थी समूह तालिबानले सन् २०२१ मा अफगानिस्तानको सत्ता कब्जामा लिए यता मारिने हक्कानी उक्त समूहका अहिलेसम्मकै उच्च नेता हुनु हुन्छ । कार्यालयबाट बाहिरिँदै गर्दा भएको उक्त विस्फोटमा हक्कानीका अतिरिक्त अन्य ६ जना पनि मारिएको बीबीसीले जनाएको छ । खलिल हक्कानी तालिबानभित्रको शक्तिशाली समूह हक्कानी नेटवर्कका शीर्ष नेता हुनु हुन्थ्यो । सन् २०११ मा अमेरिकाले उहाँलाई वैश्विक आतंकवादीको सूचीमा राख्दै उहाँबारे सूचना दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

अर्को चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस)ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । आईएसको समाचार एजेन्सी अमाकले जारी गरेको रिपोर्टमा आईएसको एक जना लडाकु मन्त्रीको कार्यालयबाहिर कुरेर बसेको र मन्त्री बाहिर निस्किने बित्तिकै विस्फोट गराएको उल्लेख गरिएको छ ।

खलिल हक्कानीका दाइ तथा चर्चित गुरिल्ला लडाकु जलालुद्दिन हक्कानीले सन् १९७० मा कुख्यात हक्कानी नेटवर्कको स्थापना गरेका थिए । हक्कानी नेटवर्कले सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत सैनिक विरुद्ध गुरिल्ला युद्ध लडेको थियो भने २० वर्ष लामो गृहयुद्धमा भएका थुप्रै आक्रमणमा हक्कानी समूहको हात थियो ।

जलालुद्दिन हक्कानीका छोरा तथा खलिल हक्कानीका भतिजा सिराजुद्दिन हक्कानी वर्तमान तालिबान सरकारमा गृहमन्त्री छन् ।

सन् २०२१ मा अमेरिका लगायतका पश्चिमा देशका सेनाको बहिर्गमनसँगै तालिबानले अफगानिस्तानको सत्ता पूर्ण रूपमा आफ्नो कब्जामा लिएको हो भने इस्लामिक स्टेट अफ खोरासान प्रान्त यसको प्रमुख प्रतिद्वन्द्वीका रुपमा देखिँदै आएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com