काठमाडौँ – पिकलबल खेलको प्रवर्द्धन र युवा पुस्तालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यसहित आयोजित आराध्या पिकलबल च्याम्पियनसिप २०२५ को भव्य उद्घाटन आज बिशाल मिलन केन्द्र, काठमाडौँमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले च्याम्पियनसिपको उद्घाटन गरेपछि पिकलबल खेलमा आफैं सहभागी भई अनुभव साटासाट गरे। मन्त्री पौडेलले पिकलबल खेल अत्यन्त रमाइलो भएको बताउँदै, “स्वस्थ जीवनशैलीका लागि खेल महत्वपूर्ण हुन्छ। अब म पनि पिकलबल खेल्नेछु,” भन्ने प्रतिक्रिया दिए। साथै, पिकलबल खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पिकलबल एसोसियसन नेपालको अभियानलाई सरकारी स्तरबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
विशेष अतिथि काठमाडौँ महानगरपालिका वडा नं. ४ का पूर्व अध्यक्ष मोहन विष्टले यस्ता प्रतियोगिताले स्थानिय स्तरमा खेलकुद गतिविधिको विकास गर्न सहयोग गर्ने र युवालाई खेलकुदमा सक्रिय बनाउनेमा जोड दिए। यसैगरी, पिकलबल एसोसियसन नेपालका संस्थापक अध्यक्ष सौरभ भण्डारीले खेलकुदको विकासका लागि संस्थाले अवलम्बन गरेका दीर्घकालीन योजनाबारे जानकारी गराउँदै ‘फ्रम स्कुल टु ओलम्पिक’ अभियानमा सबैलाई सहकार्यका लागि आग्रह गरे।
कार्यक्रमको सभापतित्व बिशाल मिलन केन्द्रका सह सचिव राजेश शर्माले गरेका थिए भने कार्यक्रम सञ्चालन बिशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले गरेका थिए।
च्याम्पियनसिपको मुख्य प्रतिस्पर्धा भोलि, पुस २१ गते शनिबार, स्नोल्यान्ड स्पोर्ट्स एकेडेमी, बौद्धमा हुनेछ। बिहान ८ बजे सुरु हुने यस प्रतियोगितामा विभिन्न समूहका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्, र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरुलाई पदक तथा विशेष पुरस्कार प्रदान गरिनेछ।
बिशाल मिलन केन्द्र पिकलबल क्लबद्वारा आयोजित यो प्रतियोगिताले पिकलबललाई नेपाली समाजमा थप स्थापित गर्दै यसको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।
तस्बिरहरु
प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार
प्रतिक्रिया