एजेन्सी। भारतको छत्तीसगढ राज्यमा सडक निर्माणमा भएको भ्रष्टाचारबारे रिपोर्टिङ गर्ने पत्रकार मुकेश चन्द्राकारको शव सेप्टिक ट्याङ्कीमा फेला परेको छ। ३२ वर्षीय चन्द्राकार नयाँ वर्षको दिन बेपत्ता भएपछि उनका परिवारले प्रहरीमा उजुरी दर्ता गरेका थिए।
प्रहरीले उनको मोबाइल ट्र्याक गरी शुक्रबार विजापुर क्षेत्रको सडक निर्माण ठेकेदारको कम्पाउन्डमा शव फेला पारेको हो। चन्द्राकारको हत्या आरोपमा उनका दुई आफन्तसहित तीन जनालाई पक्राउ गरिएको छ।
विजापुर प्रहरीले घटनास्थलको प्रारम्भिक जाँचका क्रममा केही फेला नपारे पनि जनवरी ३ मा थप जाँच गर्दा सेप्टिक ट्याङ्कीभित्र शव भेटिएको जनाएको छ। एक वरिष्ठ प्रहरी अधिकारीले शव माथि कंक्रीटका स्ल्याबहरू राखिएको बताए।
प्रहरीका अनुसार चन्द्राकारको शरीरमा गहिरो चोटका चिन्ह देखिएका छन्। स्वतन्त्र पत्रकार चन्द्राकारले सार्वजनिक निर्माण परियोजनाहरूमा भइरहेको भ्रष्टाचारबारे विस्तृत रिपोर्टिङ गर्दै आएका थिए। उनी बस्तर जंक्शन नामक लोकप्रिय युट्युब च्यानल पनि सञ्चालन गर्थे।
घटनापछि प्रेस काउन्सिल अफ इन्डियाले राज्य सरकारसँग घटनाको तथ्यमा रिपोर्ट माग गरेको छ। राज्यका मुख्यमन्त्रीले घटनालाई हृदयविदारक भन्दै विशेष अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेकामध्ये एक अभियुक्त चन्द्राकारका भतिजा हुन्। मुख्य आरोपी ठेकेदार सुरेश चन्द्राकार, जो चन्द्राकारका आफन्त पनि हुन्, अझै फरार छन्। दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीय पत्रकारहरूले प्रदर्शन गरेका छन्।
यसअघि, मे २०२२ मा बिहारमा अवैध बालुवा उत्खननबारे रिपोर्टिङ गर्ने पत्रकार सुभाष कुमार महतोको गोली हानी हत्या गरिएको थियो।
प्रकाशित मिति: २२ पुस २०८१, सोमबार
प्रतिक्रिया