काठमाडौँ —चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार
प्रतिक्रिया