वासिङ्टन । अमेरिकाको पेनिसल्भेनिया राज्यमा जुलाई महिनामा भएको चुनावी र्यालीमा डोनाल्ड ट्रम्पमाथि हत्या प्रयास भएको थियो। आक्रमणकारीले हानेको गोली ट्रम्पको कानलाई छुँदै गएको थियो, जसले ठूलो दुर्घटना हुनबाट जोगायो।
घटनाको समयमा ट्रम्पको सुरक्षामा खटिएका सेक्रेट सर्भिसका सुरक्षाकर्मी सिन कुर्रानले आक्रमणकारीबाट ट्रम्पलाई सुरक्षित राख्न महत्वपूण भूमिका खेलेका थिए। यही कारण, ट्रम्पले उनलाई अमेरिकाको सेक्रेट सर्भिसको निर्देशकको जिम्मेवारी दिएका छन्।
ट्रम्पले एक विज्ञप्तिमा भनेका छन्, “सिन कुर्रानले आफ्नो ज्यान जोखिममा राखेर साहसिक कदम चालेका छन्। मलाई विश्वास छ, उनले अमेरिकाको सेक्रेट सर्भिसलाई अझ बलियो बनाउनेछन्।”
ट्रम्पमाथिको उक्त आक्रमणपछि सेक्रेट सर्भिसको कडा आलोचना भएको थियो। त्यसै कारण, तत्कालीन निर्देशक किम्बर्ली चिटलले राजीनामा दिएका थिए। त्यसपछि कार्यवाहक निर्देशकको जिम्मेवारी रोन रोवेले सम्हालिरहेका थिए। अब कुर्रानले रोवेलाई विस्थापित गर्दै यो भूमिका सम्हाल्नेछन्।
कुर्रानले २००१ मा सेक्रेट सर्भिसको नेवार्क फिल्ड अफिसमा विशेष एजेन्टको रूपमा आफ्नो करियर सुरु गरेका थिए। आफ्नो पहिलो कार्यकालमा उनले राष्ट्रपतिको सुरक्षामा सहायक विशेष एजेन्टको रूपमा पनि काम गरेका थिए।
- एजेन्सी
प्रकाशित मिति: १० माघ २०८१, बिहिबार
प्रतिक्रिया