काठमाडौं – भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
दैनिक भास्करका अनुसार मंगलबार राति (बुधबार बिहान) करिब १:३० बजे भएको यस घटनामा धेरै श्रद्धालु घाइते भएका छन्। प्रशासनले हालसम्म मृतक तथा घाइते सार्वजनिक गरिसकेको छैन।
भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज हुने मौनी अमावस्या अमृत स्नान रद्द गरेका छन्। अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले भीड अत्यधिक बढेका कारण यस्तो निर्णय गरिएको बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन वार्ता गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, संगम तटमा भीडका कारण केही महिला लड्दा उनीहरूलाई अन्य श्रद्धालुले कुल्चिएका थिए।
दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ। संगम किनारामा एनएसजी कमाण्डो तैनाथ गरिएको छ र सर्वसाधारणको प्रवेश तत्कालका लागि बन्द गरिएको छ। प्रयागराजमा भीड नियन्त्रण गर्न वरपरका जिल्लाहरूमा भक्तजनलाई प्रवेश रोक्न निर्देशन दिइएको अधिकारीहरूले जनाएका छन्।
आज मौनी अमावस्या पर्वका अवसरमा करिब ५ करोड श्रद्धालु प्रयागराज आइपुग्ने अनुमान गरिएको छ। प्रशासनका अनुसार, राति अबेरसम्म संगमसहित ४४ घाटमा ८ देखि १० करोड भक्तजनले स्नान गर्ने सम्भावना छ। मंगलबार मात्र ५.५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए। सुरक्षाका लागि ६० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ।
प्रकाशित मिति: १६ माघ २०८१, बुधबार
प्रतिक्रिया