काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं विवादित ब्यापारी चन्द्र ढकालको नेतृत्वमा रहेको ग्लोबल आइएमई बैंक डुब्ने खतरा बढेको छ। ढकाल स्वामित्वको आईएमई समूहविरुद्ध देशभर तीव्र विरोध सुरु भएसँगै बैंकमाथि गम्भीर असर देखापर्न थालेको छ।
ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल पाथीभरामा केवलकार विस्तारको नाममा ढकाल समूहले आदिवासी लिम्बु समुदायको मौलिक सभ्यता ध्वस्त बनाउन खोजेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। केही दिनअघि मात्र ढकाल समूहले स्थानीय अधिकारकर्मीहरूविरुद्ध प्रहरी परिचालन गरी गोली चलाएको आरोप लागेपछि विरोध झन् चर्किएको छ।
राजनैतिक साँठगाँठमा व्यापारिक सफलता : विवादमा ढकाल
सामान्य परिवारबाट उदाएका चन्द्र ढकाल छोटो समयमै अर्बपति व्यवसायी बनेका थिए। ग्लोबल आइएमई बैंक, ग्लोबल रेमिट, आईएमई पे लगायतका ठूला व्यावसायिक संस्थाहरू सञ्चालनगरी व्यापारको आकार सँगै राजनीतिक साँठगाँठमा राज्य शक्तिको दुरुपयोगमा समेत उकालो चढेका ढकाल ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरामा केवलकार संचालनको धन्दा शुरु गरेसँगै चरम विवादमा मुछिएका छन् ।
यस परियोजनाका कारण स्थानीय आदिवासी समुदायको धार्मिक, सांस्कृतिक, र आध्यात्मिक सम्पदा ध्वस्त भएको भन्दै व्यापक असन्तुष्टि जनाइएको छ। किराँत याक्थुङ चुम्लुङ लगायत आदिवासी संघ-संस्थाहरूले ढकाल समूहविरुद्ध कडा अभियान चलाइरहेका छन्। जसको असर ग्लोबल आइएमई बैंकमा देखा पर्न थालेको छ।
ग्लोबल आइएमई बैंकको बहिष्कार अभियान तीव्र
गत माघ १५ गते किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयका महासचिव निरन्ती तुम्बाम्पोद्वारा जारी विज्ञप्तिमा ग्लोबल आइएमई बैंकको खाता बन्द गरिएको घोषणा गरियो। सो संस्थाले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, र स्थानीय समितिलाई बैंकसँगको सम्पर्क तोड्न र पैसा निकालेर खाता बन्द गर्न सर्कुलर जारी गरेको छ।
साथै, अधिकांश अभियान्ताले खाता बन्द गरेको जानकारी सहित सामाजिक संजालमा राख्न थालेका छन् । अभियान्ताहरुले खाता बन्द गर्नका लागि डिजिटल अभियान समेत थालेका छन् ।
सामाजिक संजालमा भेटिएका अधिकांश पोस्टरमा आईएमई बहिस्कारको नारा लेखिएको छ । कतिपयले बैंकको ब्रान्चमै गएर खाता बन्द गरेको निवेदन दिएर तस्विर खिचाएका छन् ।
यसले ग्लोबल आइएमई बैंकलाई गम्भीर संकटमा पार्न सक्ने देखिन्छ। बैंकप्रति घट्दो विश्वास र ग्राहकहरूको निरन्तर बहिर्गमनले ढकाल समूहको व्यापारिक साम्राज्य संकटमा पर्नसक्ने बिश्लेषण हुन थालेका छन्।
प्रकाशित मिति: २० माघ २०८१, आइतबार
प्रतिक्रिया