काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हटाइएका संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै लामिछानेको पार्टी सदस्यता बाँकी नरहेको दाबी गरेका हुन् ।

‘विधानतः रवि दाइ राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भएका छन्,’ उनले उल्लेख गरे । रास्वपाको विधान अनुसार भ्रष्टाचार र नैतिक पतनको अभियोगमा सजाय पाएकालाई सदस्यता अयोग्य हुन्छ। यस्तो योग्यता कायम नरहेमा सदस्यता स्वतः समाप्त हुने उल्लेख छ । शुक्रबार उच्च अदालत तुलसीपुरले लामिछानेलाई सहकारी ठगीको कसुरमा थुनामा पठाउने आदेश दिएपछि काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेर भैरहवा लगेको छ ।

अब उनलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । सोमबार लामिछानेलाई अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । त्यसपछि मात्रै उनलाई कारागार चलान गरिनेछ । लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो । तर शुक्रबार न्यायाधीश शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको इजलास सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com