काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण विभिन्न व्यस्तताका कारण नभ्याएर नभएको बताएका छन्। उनले भ्रमण असम्भव नभई, समय मिल्न नसकेको कारणले मात्र हालसम्म सम्भव नभएको बताए।

बिमस्टेक शिखर सम्मेलनमा सहभागी भई शनिबार थाइल्याण्डको बैँककबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भ्रमण रोकिएको भन्ने हल्ला आधारहीन भएको बताएका हुन्।

उनले भने, “कहिले केही काम परिहाल्छ, कहिले केही योजना ठोक्किन्छ। त्यसैले भ्रमण नभएको हो, नत्र कसैले काँडेतार लगाएको हो र? भारत भ्रमणको ढोका सधैं खुला छ।”

प्रधानमन्त्री ओलीले बैँककमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गरेको जानकारी पनि दिए। सो भेटमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई आगामी सगरमाथा संवादका लागि निमन्त्रणा पनि दिएका थिए।

प्रधानमन्त्री ओलीले उक्त भेट सफल भएको बताउँदै भने, “प्रधानमन्त्री मोदीसँग राम्रो वातावरणमा विस्तृत कुराकानी भयो। उहाँ पनि सन्तुष्ट हुनुहुन्थ्यो।”

नेपाल-भारत सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “हामीले दुई देशबीचको सम्बन्धलाई अझ बलियो र समृद्ध बनाउने दृढ अठोट लिएका छौं। छिमेकमा कहिलेकाहीँ साना समस्या देखिन सक्छन्, तर त्यसलाई संवादमार्फत समाधान गर्ने गहिरो समझदारी हामीबीच बनिसकेको छ।”

प्रधानमन्त्री ओलीले समय मिल्नासाथ सगरमाथा संवादअघि नै भारत भ्रमण हुनसक्ने संकेतसमेत गरेका छन्।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com