काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष जनमतका माध्यमबाट आफ्नो हैसियत प्रमाणित गर्न खुला चुनौती दिएका छन्।
झापाको मेचीनगर–धुलाबारीमा नेपाली कांग्रेसले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले पूर्वराजा शाहप्रति तीव्र आलोचना गर्दै भने, “यदि तपाईंलाई लाग्छ कि जनसमर्थन तपाईंको पक्षमा छ भने आउनुहोस्, २०८४ सालको आम निर्वाचनमा ‘श्रीपेच’ चिन्ह लिएर मैदानमा उत्रिनुहोस्। यदि दुई तिहाइ मत प्राप्त गरेर देखाउन सक्नुहुन्छ भने, संविधान संशोधनमार्फत तपाईंले चाहेको व्यवस्था ल्याउन पाइन्छ। तर, अन्य कुनै पनि अवैधानिक उपायबाट देशलाई अराजकतातर्फ धकेल्ने प्रयास सह्य हुने छैन।”
शर्माले संविधानसभाको पहिलो बैठकले वैधानिक रूपमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिसकेको उल्लेख गर्दै भने, “सडकमा केही मानिस उतार्दैमा संविधानसभाको निर्णय उल्ट्याउन सकिँदैन। गणतन्त्र नेपालको व्यवस्था संविधान संशोधनमार्फत मात्र परिवर्तन हुन सक्छ, र त्यसका लागि पनि जननिर्वाचित संसदमा दुई तिहाइ बहुमत अपरिहार्य हुन्छ।”
उनले थप भने, “हिजोको जस्तो राजा वा दरबारको हुकुमले संविधान संशोधन हुने दिन अब गए। आजको युगमा जनताको मतकै सर्वोच्चता छ। सडकमा भीड देखाएर वा आकाशतिर हात उठाएर जनमत प्रमाणित हुँदैन।”
शर्माले नेपाली जनताको सोच परिपक्व भइसकेको उल्लेख गर्दै भने, “हाम्रा नागरिकहरूले कुन वंश वा राजघरानाबाट को जन्मियो भनेर होइन, कसले जनताको सेवामा कस्तो कर्म गर्यो भन्ने आधारमा आफ्नो प्रतिनिधि चुन्छन्।”
प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार
प्रतिक्रिया